दैलेख । दैलेखमा घरायसी विवादका क्रममा बन्चरो प्रहार गरी आफ्नै श्रीमती र तीन सन्तानलाई गम्भीर घाइते बनाउने व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा चामुण्डाबिन्द्रासैनी नगरपालिका–३ पानीखोलाका ३८ वर्षीय अम्मर सलामी मगर रहेका छन्।
उनले घरायसी विवादका क्रममा आफ्नी ३५ वर्षीया श्रीमती मनिषा सलामी मगर, १२ वर्षीय छोरा तपेन्द्र, ६ वर्षीय छोरा मिलन र ३ वर्षीया छोरी करिस्मामाथि दाउरा काट्ने बन्चरोले टाउकोमा प्रहार गरेका थिए।
बन्चरो प्रहारबाट घाइते चारै जनाको अवस्था गम्भीर रहेको छ। उनीहरूलाई उपचारका लागि एम्बुलेन्समार्फत दैलेखको दुल्लु नगर अस्पताल पठाइएको छ।
घटनामा संलग्न अम्मरलाई प्रहरीले नियन्त्रणमा लिई घटनामा प्रयोग भएको बन्चरोसमेत बरामद गरेको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
