सिन्धुली । सिन्धुलीमा गुडिरहेको बोलेरो जिपको ढोकाबाट खसेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घ्याङलेख गाउँपालिका–४ बन्दीपुरका ५८ वर्षीय मानध्वज योञ्जन रहेका छन्।
मंसिर ७ गते बिहान ९:३० बजे घ्याङलेखबाट सिन्धुलीतर्फ जाँदै गरेको बा २१ च ८३२५ नम्बरको डबल क्याप बोलेरो जिपमा सवार योञ्जनले ढोकाको लक समातेर बसेका थिए। सोही क्रममा अचानक लक खुलेपछि उनी जिपबाट खसेर घाइते भएका थिए।
घाइते योञ्जनलाई उपचारका लागि जिल्ला अस्पताल सिन्धुली पुर्याइएकोमा बिहान ९:५० बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
घटनापछि प्रहरीले जिप र चालक २४ वर्षीय टेकबहादुर स्याङ्बोलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ।
