काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले काठमाडौंको बालाजु र सीतापाइलास्थित मासु कोल्ड स्टोरेजको छड्के अनुगमन गरेकी छन्।
मंसिर १ गतेदेखि कार्यान्वयनमा आएको पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ को कार्यान्वयन अवस्थाबारे जानकारी लिन मन्त्री चौधरी अनुगमनमा पुगेकी हुन्।
अनुगमनका क्रममा उनले मासुको भण्डारण, सरसफाइ, स्वच्छता, गुणस्तर तथा खाद्य सुरक्षा मापदण्डको पालनाबारे निरीक्षण गरेकी थिइन्।
उपभोक्ताले स्वच्छ, स्वस्थ र गुणस्तरीय मासु उपभोग गर्न पाउने अधिकार सुनिश्चित गर्न ऐनको प्रभावकारी कार्यान्वयन र निर्धारित मापदण्डको पालना गर्नुपर्नेमा उनले जोड दिइन्।
