खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३, आहालेमा धारिलो हतियार प्रहारबाट चारजना घाइते भएका छन्। आफ्नै ससुरालीमा गएर स्थानीय ४३ वर्षीय नइन्द्रकुमार राईले धारिलो हतियार प्रहार गर्दा उनकी श्रीमतीसहित चारजना घाइते भएका हुन्।
घाइते हुनेमा हलेसी तुवाचुङ नगरपालिका–३ की ४० वर्षीया अन्जना राई, ६२ वर्षीया स्यामाउन राई, नरेन्द्र राई र २५ वर्षीया तेनिना राई रहेका छन्।
घटनामा अन्जनाको टाउकोको पछाडिको भागमा, स्यामाउनको टाउको तथा दाहिने हातमा र तेनिनाको टाउकोमा चोट लागेको छ। उनीहरूको अवस्था गम्भीर रहेको छ। त्यस्तै, नरेन्द्रको दाहिने हातमा चोट लागेको र उनको अवस्था मध्यम रहेको जनाइएको छ।
घाइते चारैजनालाई उपचारका लागि नगर अस्पताल दुर्छिममा ल्याइएको छ। उनीहरूको उपचार भइरहेको छ।
घटनामा संलग्न रहेको आरोपमा नइन्द्रकुमार राईलाई प्रहरीले पक्राउ गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
