बाँके । बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीमा आगलागी हुँदा करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको क्षति भएको छ। कम्पनीभित्र रहेको फर्नेस आयलको ट्यांकीमा विद्युत् सर्ट सर्किट हुँदा आगलागी भएको प्रारम्भिक विवरण छ।
बिहीबार बिहान करिब १:३० बजे ट्यांकीमा अचानक आगलागी भएको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय खजुरा खुर्द, बाँकेबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो।
आगलागी भएको ट्यांकीको क्षमता २ लाख लिटर रहेको जनाइएको छ। आगलागीबाट करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।
नेपाल प्रहरी, स्थानीयवासी तथा दमकलको सहयोगमा बिहान करिब २:३० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो। घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ।
