काठमाडौं । सरकारले बुढीगण्डकी नदीमा आएको बाढीबाट अतिप्रभावित गोरखाका तीन गाउँपालिका र धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाका वडा नं. १ र २ लाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ।
त्यस्तै, वर्षाका कारण आएको बाढी तथा पहिरोबाट प्रभावित बागलुङका गलकोट र ढोरपाटन नगरपालिकालाई पनि तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरिएको छ।
प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।
सरकारले क्षतिग्रस्त निजी आवासका प्रभावित परिवारलाई वैकल्पिक बसोबासको व्यवस्था नभएसम्म बढीमा ६ महिनाका लागि राहत उपलब्ध गराउने निर्णयसमेत गरेको छ। जसअनुसार चार जनासम्म सदस्य भएका परिवारलाई मासिक १५ हजार रुपैयाँ र चार जनाभन्दा बढी सदस्य भएका परिवारलाई प्रत्येक थप सदस्यका लागि मासिक २ हजार रुपैयाँ उपलब्ध गराइनेछ।
