मुगु । मुगुको खत्याड गाउँपालिका–११ स्थित बिरा खोलामा सडक निर्माणका क्रममा सुक्खा पहिरो खस्दा एक्स्काभेटरसहित चालक पुरिएका छन् भने सहचालक घाइते भएका छन् ।
सोमबार बिहान मुगु–रारा भित्री सडकखण्डअन्तर्गत बेलिब्रिज जोड्ने सडक काट्ने क्रममा माथिबाट एक्कासि पहिरो खसेको हो । पहिरोमा बा ३ क ३२७६ नम्बरको एक्स्काभेटरसहित बझाङका २४ वर्षीय चालक विमल बाग पुरिएको जिल्ला प्रहरी कार्यालय मुगुका डीएसपी रविराज थपलियाले जानकारी दिए ।
पुरिएका चालकको उद्धारका लागि प्रहरी टोली परिचालन गरिएको छ । पहिरो पन्छाएर चालकलाई निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
एक्स्काभेटरका सहचालक मुगुको सोरु गाउँपालिका–१ का २२ वर्षीय विनय मल्ल घाइते भएका छन् । पहिरोबाट खसेको ढुंगाले उनको हात र खुट्टामा चोट लागेको छ । उनी बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ ।
उद्धारका लागि इलाका प्रहरी कार्यालय रातापानी र प्रहरी चौकी माझचौरबाट १३ जना प्रहरी परिचालन गरिएको छ ।
