बागलुङ । बागलुङको निसीखोला गाउँपालिका–१ स्थित सल्लेरी सामुदायिक वनबाट प्रहरीले लुकाइछिपाई राखिएका ७ थान भरुवा बन्दुक बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट प्रहरी निरीक्षक तिलक मानन्धरको कमाण्डमा खटिएको प्रहरी गस्ती टोलीले बुधबार बिहान सामुदायिक वन क्षेत्रमा खोजतलास गर्ने क्रममा वनमाराको झाडीमा लुकाइराखेको अवस्थामा ती बन्दुक फेला पारेको हो ।
प्रहरीका अनुसार २०८३ असोज २१ गते बिहान करिब ९ बजे फेला परेका बन्दुकमध्ये ५ थान सावुत अवस्थामा र २ थान बेसावुत अवस्थामा रहेका छन् । सबै बन्दुक एकनाले भरुवा बन्दुक रहेको प्रहरीले जनाएको छ ।
बरामद गरिएका बन्दुक कसले र के प्रयोजनका लागि त्यहाँ लुकाएर राखेको भन्ने विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
