नवलपरासी । पश्चिम नवलपरासीमा भन्सार छली गरेर ल्याई लुकाइराखिएको ठूलो परिमाणको कपडा प्रहरीले बरामद गरेको छ ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र इलाका प्रहरी कार्यालय बेलाटारीबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्लाको सुस्ता गाउँपालिका–२ सोमलियास्थित महेन्द्र चौधरीको घरमा छापा मारेर भन्सार छली गरी ल्याइएको कपडा बरामद गरेको हो ।
प्रहरीका अनुसार असोज १२ गते बिहान करिब ७ बजे चौधरीको घरको भान्सा कोठालाई गोदामका रूपमा प्रयोग गरी राखिएको अवस्थामा विभिन्न प्रकारका कपडा फेला परेका थिए । बरामद सामग्रीको अनुमानित मूल्य ११ लाख ६८ हजार ७०० रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।
बरामद सामग्रीमा साडी ८९ पिस, कुर्ता सुरुवाल १०६ पिस, कुर्ता सुरुवाल १२ पिस, लेडिज टिसर्ट १८ पिस, पुरुषको सेरवानी कुर्ता सेट ३२ पिस, सुतीको थान कपडा १४ मिटर, कुर्ता सुरुवाल ५८ पिस र लुंगी ११० पिस रहेका छन् ।
बरामद कपडा आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ।
