दाङ । तुलसीपुर उपमहानगरपालिका–७ गैरापातुस्थित सडकमा स्कुल बसको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु भएको छ ।
बुधबार बिहान करिब १० बजे गैरापातु झोलुङ्गे पुलस्थित सडकमा लु.प्र.०२–००१ क ०००४ नम्बरको लक्ष्य एकेडेमीको बसले पैदलयात्री बालकलाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका बालकको उपचारका क्रममा मृत्यु भएको हो ।
मृत्यु हुनेमा सल्यानको शारदा नगरपालिका–२ खलङ्गा घर भई हाल दाङको तुलसीपुर उपमहानगरपालिका–५ रानीजरुवामा डेरा गरी बस्ने पप्पु नेपालीका करिब दुई वर्षीय छोरा आयन नेपाली रहेका छन् ।
बसको ठक्करबाट घाइते भएका आयनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको अवस्थामा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
