काठमाडौं । सार्वजनिक बसमा सवार यात्रुबाट लागूऔषध खैरो हेरोइन ३२.७३० ग्रामसहित पाँच जनालाई पक्राउ गरिएको छ।
लागूऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको संयुक्त प्रहरी टोलीले चन्द्रागिरि नगरपालिका–२ स्थित चेकजाँचका क्रममा उक्त लागूऔषध बरामद गरेको हो।
मिति २०८३ असोज २३ गते जनकपुरबाट काठमाडौं आउँदै गरेको सार्वजनिक बसमा जाँच गर्ने क्रममा भारतको बिहार राज्यको समस्तीपुरका १९ वर्षीय पुष्पम प्रकाश, २५ वर्षीय महेश कुमार र १९ वर्षीय सोनु कुमारलाई खैरो हेरोइनसहित पक्राउ गरिएको ब्युरोले जनाएको छ।
उनीहरूमाथि थप अनुसन्धान गर्ने क्रममा लागूऔषध खरिद गरी लिन संलग्न अन्य दुई जनालाई समेत पक्राउ गरिएको छ। पक्राउ पर्नेमा धादिङको गल्छी गाउँपालिका–६ की २३ वर्षीया कृष्टि खड्की र २५ वर्षीय रामकृष्ण खड्की रहेका छन्।
प्रहरीले उनीहरूबाट लागूऔषध खैरो हेरोइन ३२.७३० ग्राम, ट्रामाडोल १ हजार ११० क्याप्सुल, आठ थान मोबाइल फोन र नगद ७५ हजार २२० रुपैयाँ बरामद गरेको छ।
पक्राउ परेका पाँचै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि प्रहरी वृत्त थानकोट बुझाइएको लागूऔषध नियन्त्रण ब्युरोले जनाएको छ।
