नवलपरासी। पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ स्थित यस मोड नजिक पूर्व–पश्चिम राजमार्गमा बस पल्टिँदा चालक र सहचालकसहित सात जना घाइते भएका छन्।
सोमबार बिहान करिब ७ः३० बजे काठमाडौँबाट धनगढीतर्फ जाँदै गरेको सुदूरपश्चिम यातायातको सु.प्र.०१–००१ ख २३३० नम्बरको बस अनियन्त्रित भई सडकमा पल्टिएको हो। बसमा करिब ४० देखि ४५ जना यात्रु सवार रहेको बताइएको छ।
दुर्घटनामा घाइते भएका सातै जनालाई उपचारका लागि बर्दघाट नगर अस्पताल, चिसापानी पठाइएको छ। घाइतेमध्ये अछामको साँफेबगर नगरपालिका–५ की २६ वर्षीया मौसमी ओढको अवस्था मध्यम रहेको छ भने अन्य छ जनाको अवस्था सामान्य रहेको छ।
घाइते हुनेमा दार्चुलाको मालिकार्जुन गाउँपालिका–२ का ५२ वर्षीय पुष्कर सिंह धामी, दार्चुलाकै मार्मा गाउँपालिका–३ का ३० वर्षीय भगवती अवस्थी र ४८ वर्षीय धनञ्जय जोशी, कैलालीको लम्कीचुहा नगरपालिका–८ की २९ वर्षीया निर्मला खड्का, गौरीगंगा नगरपालिका–१० का ३९ वर्षीय बसचालक इन्द्र वि.क. तथा गोदावरी नगरपालिका–१ का ४६ वर्षीय सहचालक मोहन जोशी रहेका छन्।
बस पल्टिने क्रममा सोही दिशाबाट आउँदै गरेको भारतीय नम्बर प्लेटको एचआर ३९ जी २८७६ नम्बरको ट्रकमा समेत सामान्य ठक्कर लागेको थियो। ठक्करबाट ट्रकको पछाडिको भागमा क्षति पुगेको छ।
घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बर्दघाटबाट प्रहरी निरीक्षकको कमान्डमा ट्राफिक प्रहरीसहित ११ जनाको टोली घटनास्थलमा खटिएको थियो।
दुर्घटनापछि पनि पूर्व–पश्चिम राजमार्गमा यातायात सञ्चालनमा रहेको प्रहरीले जनाएको छ।
