काठमाडौं । सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रहरीका नवनियुक्त प्रहरी निरीक्षकहरूलाई कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी आफ्नो कर्तव्य निर्वाह गर्न आग्रह गर्का छन्।
प्रहरी निरीक्षक आधारभूत तालिम (१–१८४औँ समूह) को दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले प्रहरी सेवामा नैतिकता, निष्ठा, इमानदारी र अनुशासनलाई प्राथमिकता दिनुपर्ने बताए।
उनले १६ महिने आधारभूत तालिम पूरा गरी कार्यक्षेत्रमा प्रवेश गर्न लागेका प्रहरी निरीक्षकहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिए। आफ्ना छोराछोरीलाई चुनौतीपूर्ण प्रहरी सेवामा आबद्ध हुन निरन्तर प्रेरित गर्ने अभिभावक तथा परिवारजनप्रति पनि उनले आभार व्यक्त गरेयो।
प्रधानमन्त्री शाहले प्रहरी निरीक्षकहरूले तालिमका क्रममा हासिल गरेको ज्ञान र सीपलाई व्यवहारमा उतार्दै जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने विश्वास व्यक्त गरे। कुनै पनि पेशागत सफलताको पहिलो आधार नैतिकता, निष्ठा र इमानदारी भएको उल्लेख गर्दै उनले पेशागत आचरण, अनुशासन तथा संविधान, प्रचलित कानुन, नियम, कार्यविधि र मापदण्डको सही पालना गर्नुपर्नेमा जोड दिए।
नेपाल प्रहरीले देशमा शान्ति सुरक्षा कायम गर्ने, अपराध अनुसन्धान गर्ने तथा संकटका बेला नागरिकको जिउधनको रक्षा गर्ने महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गर्दै आएको उनले बताए। यस्तो जिम्मेवारी पूरा गर्दा कुनै पनि अनुचित प्रभावमा नपरी, भेदभाव नगरी र आफ्नो कर्तव्यमा अडिग रहेर काम गर्न उहाँले प्रहरी अधिकृतहरूलाई आग्रह गरे।
प्रहरीको काम आम नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी प्रभावकारी हुनुपर्ने उल्लेख गर्दै प्रधानमन्त्री शाहले प्रहरी निरीक्षकहरूलाई व्यक्तिगत स्वार्थमा संलग्न नहुन र संगठनको प्रोटोकलविपरीत गतिविधि नगर्न सचेत गराए।
उनले समयसँगै अपराधका स्वरूप र प्रवृत्तिमा परिवर्तन भइरहेको भन्दै अपराध अनुसन्धानमा सूचना प्रविधिको सही सदुपयोग गर्नुपर्ने बताए। निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रमाणमुखी अनुसन्धानका लागि आधुनिक प्रविधिको प्रयोग आवश्यक रहेको उनको भनाइ थियो।
यसका लागि प्रहरी संगठन, नेतृत्व र प्रशिक्षकहरूको पनि महत्त्वपूर्ण भूमिका रहने उल्लेख गर्दै प्रधानमन्त्री शाहले आवश्यक अनुसन्धानका लागि स्रोतसाधन उपलब्ध गराउन तथा आफ्नो जिम्मेवारी पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताए।
सम्बोधनको अन्त्यमा उहाँले दीक्षित प्रहरी अधिकृतहरूको कार्यसफलताको कामना गर्दै अभिभावकप्रति कृतज्ञता व्यक्त गर्नुभयो। साथै, दीक्षान्त समारोह आयोजना गर्ने राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानलाई धन्यवाद दिए।
