कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका–१ रतनपुरमा खुकुरी देखाएर धम्क्याउँदै कुटपिट गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार असोज २३ गते दिउँसो करिब ४ बजे बेलौरी नगरपालिका–१ रतनपुरका एक व्यक्तिलाई ए.ए.स्थित खजुवा जंगलमा लगेर धारिलो हतियार (खुकुरी) देखाउँदै धम्क्याइएको थियो। उनीमाथि कुटपिटसमेत गरिएको घटनाबारे असोज २४ गते साँझ इलाका प्रहरी कार्यालय बेलडाँडीमा जानकारी प्राप्त भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले बेलौरी नगरपालिका–९ रतनपुरका २१ वर्षीय आशिष बिष्ट, १९ वर्षीय दिलीप भट्ट,२१ वर्षीय शंकर सुनार, २३ वर्षीय सुजित अधिकारी र २२ वर्षीय मिलन तिरुवालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूविरुद्ध अपहरण, शरीर बन्धक तथा ज्यान मार्ने उद्योग एवं अपमानजनक तथा अमानवीय व्यवहारसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको छ।
