मुगु । मुगुको छायाँनाथ रारा नगरपालिका–५ कार्कीवाडामा खुडा प्रहार गरी एक वृद्धको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार असोज २७ गते बिहान करिब ८ः२० बजे स्थानीय ३२ वर्षीय अजबिर कामीले ७५ वर्षीय धनबिर कामीमाथि धारिलो हतियार खुडा प्रहार गरेका थिए। खुडा प्रहारबाट घाइते भएका धनबिरलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल मुगु लगिएको थियो। अस्पताल पुर्याएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
घटनापछि फरार रहेका अजबिरको खोजीका लागि जिल्ला प्रहरी कार्यालय मुगुबाट प्रहरी नायब उपरीक्षक रविराज थपलियाको कमाण्डमा प्रहरी टोली परिचालन गरिएको थियो। खोजतलासका क्रममा प्रहरीले बिहान करिब ९ः३० बजे छायाँनाथ रारा नगरपालिका–३ स्थित रारा ताल जाने जंगलमा भागिरहेको अवस्थामा उनलाई फेला पारेको थियो।
प्रहरीले घटनामा प्रयोग भएको खुडासहित आरोपितलाई नियन्त्रणमा लिएको जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ।
