पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा स्कुल बस दुर्घटना हुँदा चार विद्यार्थी र एक वृद्धसहित पाँच जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।
कालिका इङ्ग्लिस बोर्डिङ स्कुलको ग २ ख १४१७ नम्बरको बस सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना भएको हो । बसमा सवार १९ जनाकै उद्धार गरी अस्पताल पठाइएको थियो ।
दुर्घटनामा मृत्यु हुनेमा ममता तिवारी (१२/१३ वर्ष), अशिम कँडेल (१३/१४ वर्ष), नामथर नखुलेका दुई बालिका (१३/१४ वर्ष) र पोखरा महानगरपालिका–२८ निवासी ६५ वर्षीय बाबुराम तिवारी रहेका छन् । बाबुराम उपचारका लागि जान लिफ्ट मागेर उक्त बसमा चढेको बताइएको छ ।
दुर्घटनामा घाइते भएका १४ जनामध्ये तीन जनाको गण्डकी मेडिकल कलेजमा र ११ जनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत गण्डकी अस्पतालमा उपचार भइरहेको छ ।
गण्डकी मेडिकल कलेजमा उपचाररत घाइतेहरूमा पोखरा महानगरपालिका–२८ सौर्य निवासी १६ वर्षीया सृष्टि तिवारी, १६ वर्षीय शिसन थापा मगर र डाँडागाउँ निवासी १६ वर्षीय सौगात तिमिल्सिना रहेका छन् । उनीहरू तीनै जना कक्षा १० मा अध्ययनरत रहेको विवरणमा उल्लेख छ ।
त्यसैगरी, गण्डकी अस्पतालमा उपचाररत घाइतेहरूमा १५ वर्षीया अस्मी कँडेल, १४ वर्षीया स्नेहा गौतम, १३ वर्षीया सोनिया तिवारी, १३ वर्षीय अंकित पराजुली, मादी गाउँपालिका–१२ निवासी १५ वर्षीया स्मृति खत्री, १६ वर्षीया स्नेहा तिवारी, १४ वर्षीया आकृती बुढाथोकी, १५ वर्षीया मेरिना तिवारी, १४ वर्षीया सुप्रिया आचार्य, १६ वर्षीय यमन मगर र बस चालक ५७ वर्षीय तुलबहादुर गुरुङ रहेका छन् । घाइतेमध्ये अस्मी कँडेलको अवस्था गम्भीर रहेको छ भने अन्यको अवस्था मध्यम रहेको जनाइएको छ ।
दुर्घटनामा उद्धारका क्रममा इलाका प्रहरी कार्यालय शिशुवामा कार्यरत प्रहरी जवान अर्जुन शाहीसमेत सामान्य घाइते भएका छन् । उनको गण्डकी अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
