कावासोती । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका–८ थकाली चोकमा अज्ञात वस्तु काट्ने क्रममा अचानक विस्फोट हुँदा दुई जना घाइते भएका छन् ।
प्रहरीका अनुसार २०८३ असोज २६ गते बिहान मध्यबिन्दु नगरपालिका–३ ब्रह्मस्थान निवासी ४९ वर्षीय एकासी बोटेले कावासोती नगरपालिका–१७ अमलटारीघाटस्थित नारायणी नदीको किनारमा अज्ञात वस्तु फेला पारेका थिए ।
बाहिरी भागमा डोरीजस्तो वस्तुले बेरिएको, भित्री भाग फलामजस्तो देखिने तथा बेलनाकार उक्त वस्तुको लम्बाइ करिब दुई फिट र गोलाइ १४ इन्च रहेको बताइएको छ ।
बोटेले उक्त वस्तु घरमा ल्याएपछि बिहान करिब ११:२० बजे भारतको मोतिहारी घर भई हाल कावासोती नगरपालिका–८ थकाली चोकमा बस्दै आएका २८ वर्षीय सचिन कुमारसँग मिलेर हेक्सा ब्लेडले काट्ने प्रयास गरेका थिए । सोही क्रममा वस्तु अचानक विस्फोट भएको प्रहरीले जनाएको छ ।
विस्फोटमा परी बोटे र कुमार दुवै घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि मध्यबिन्दु प्रादेशिक अस्पताल, डण्डा लगिएको छ । दुवै जनाको अवस्था मध्यम रहेको जनाइएको छ ।
घटनामा विस्फोट भएको वस्तुको पहिचान तथा घटनाको वास्तविक कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
