काठमाडौं । काठमाडौंको कलंकीमा कुटपिटबाट १८ वर्षीय रोशन पाख्रिनको मृत्यु भएको घटनामा प्रत्यक्ष संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ भने थप तीन जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार असोज २८ गते बिहान करिब ३:३० बजे काठमाडौं महानगरपालिका–१४, कलंकीमा रोशन पाख्रिन र १९ वर्षीय रुपेश पाख्रिनबीच सामान्य विवाद भएको थियो। विवादका क्रममा कुटपिट हुँदा रोशन घाइते भई बेहोस भएका थिए।
उनलाई तत्काल उपचारका लागि कलंकीस्थित सहिद मेमोरियल अस्पताल लगिएकोमा मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनामा प्रत्यक्ष संलग्न रहेको आरोपमा १९ वर्षीय रुपेश पाख्रिनलाई प्रहरीले पक्राउ गरेको छ। घटनासम्बन्धी थप सोधपुछ तथा अनुसन्धानका लागि अन्य तीन जनालाई समेत नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
घटनाबारे प्रहरी वृत्त कालिमाटीबाट थप अनुसन्धान भइरहेको छ।
