काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले प्रहरीलाई नागरिकमैत्री व्यवहार, निष्पक्ष अनुसन्धान र जवाफदेहितालाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएका छन् ।
शुक्रबार ७१औँ प्रहरी दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री गुरुङले भ्रष्टाचार, शक्तिको दुरुपयोग र पक्षपातविरुद्ध शून्य सहनशीलताको नीति अपनाउन प्रहरी कर्मचारीलाई निर्देशन दिएका हुन् ।
उनले साइबर अपराध, वित्तीय अपराध तथा आधुनिक अनुसन्धान प्रविधिमा प्रहरीको क्षमता अभिवृद्धि गर्दै नागरिकको विश्वास जित्नुपर्नेमा जोड दिए ।
‘प्रहरीको बर्दी डरको होइन, आशा, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ,’ उनले भने, ‘सही कार्य गर्ने प्रहरीको साथमा सरकार सधैँ रहनेछ, तर गलत कार्यको संरक्षण गरिनेछैन ।’
गृहमन्त्री गुरुङले प्रहरी सङ्गठनलाई जनताकेन्द्रित बनाउँदै नागरिकको सुरक्षा, निष्पक्ष सेवा प्रवाह र जवाफदेहितालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने बताए । उनले प्रहरी कर्मचारीले आफ्नो जिम्मेवारी निर्वाह गर्दा कानुनको पालना गर्दै नागरिकको विश्वास जित्ने गरी काम गर्नुपर्नेमा जोड दिए ।
