चितवन । चितवनको नारायणी नदीमा खुट्टा धुने क्रममा डुबेर आमा र छोरा बेपत्ता भएका छन् भने उनीहरूसँगै रहेकी ११ वर्षीया छोरीको प्रहरीले उद्धार गरेको छ ।
भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी नदी किनारमा खुट्टा धुन गएका खैरहनी नगरपालिका–१ घर भई हाल भरतपुर महानगरपालिका–१२ मुनालचोकमा बस्दै आएकी ३२ वर्षीया सिर्जना शर्मा र उनका ६ वर्षीय छोरा प्रशिद्ध पौडेल बेपत्ता भएका हुन् ।
घटनामा परेकी शर्माकी ११ वर्षीया छोरी प्रसिद्धी पौडेललाई भने प्रहरीले सकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
वडा प्रहरी कार्यालय नारायणगढले विपद् उद्धार टोलीसँग समन्वय गरी बालिकाको उद्धार गरेको हो । बेपत्ता आमा सिर्जना र उनका छोरा प्रशिद्धको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
नारायणी नदीमा बेपत्ता भएका आमा–छोराको खोजीका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ ।
