मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने
पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ पहिलो पटक सौराहामा नेपथ्य ब्याण्डको सांगीतिक प्रस्तुति
पर्यटकीय नगरी चितवनको सौराहामा आगामी मंसिर ३ गते (नोभेम्बर १९) नेपथ्य ब्याण्डको विशेष सांगीतिक कार्यक्रम आयोजना हुने भएको छ। ‘नेपथ्यको धुन सौराहाको सान, पर्यटन प्रवर्द्धन हाम्रो अभियान’ भन्ने नाराका साथ आयोजना गर्न लागिएको सो कार्यक्रमबारे पत्रकार सम्मेलनमार्फत आधिकारिक घोषणा गरिएको हो।
नेपाल डायरिज र एबी ईभेन्ट्सको संयुक्त आयोजना तथा रत्ननगर नगरपालिकाको संरक्षणमा सौराहास्थित सभा हल अगाडिको सिसुवार मैदानमा उक्त कार्यक्रम हुनेछ। सौराहामा नेपथ्यको यो पहिलो सांगीतिक प्रस्तुति हो। संगीतका माध्यमबाट पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउने उद्देश्यले आयोजित यस कार्यक्रममा करिब १० हजार दर्शकको उपस्थिति रहने अनुमान गरिएको छ।
कार्यक्रमका लागि दिउँसो ४ बजेदेखि नै मैदानको प्रवेशद्वार खुला गरिने आयोजकले जनाएका छन्। दर्शकका लागि विद्यार्थी सहुलियत, अर्लि बर्ड, रेगुलर र भिआईपी गरी विभिन्न विधाका टिकटको व्यवस्था गरिएको छ। जसमध्ये सहुलियत दरका अर्लि बर्ड र अन्य टिकटको बिक्री सुरु भइसकेको छ। भिआईपी टिकट खरिदकर्तालाई ‘नेपथ्य लाइभ इन सौराहा’ लेखिएको टि-सर्ट निःशुल्क उपलब्ध गराइनेछ।
कार्यक्रममा चितवनसहित नवलपरासी (बर्दाघाट सुस्ता पूर्व र पश्चिम), तनहुँ, मकवानपुरलगायत छिमेकी जिल्लाहरूबाट सबै उमेर समूहका दर्शक तथा संगीतप्रेमीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। गत वर्ष नारायणगढको क्याम्पाचौरमा सांगीतिक कार्यक्रम सम्पन्न गरेको आयोजक संस्थाले यस वर्ष सौराहाको कार्यक्रमलाई भव्य रूपमा सफल पार्न प्रचार-प्रसार र तयारीलाई तीव्रता दिएको जनाएको छ।
