धादिङ । धादिङको बेनिघाट रोराङ गाउँपालिका–९, ज्यामिरेघाटस्थित त्रिशूली नदी किनारमा फेला परेको शंकास्पद वस्तु विस्फोट हुँदा दुई जना घाइते भएका छन्।
सोमबार दिउँसो करिब १:३० बजे नदी किनारमा फेला परेको शंकास्पद वस्तु कोठामा ल्याएर फुटाउने क्रममा विस्फोट भएको हो।
प्रहरीका अनुसार काभ्रेको ढुङखर्क गाउँपालिका–९ घर भई हाल ज्यामिरेघाटमा भाडामा बस्दै आएका कान्छा परियार र उनका दुई छोराहरूले उक्त वस्तु नदी किनारमा फेला पारेका थिए। वस्तु फुटाउने क्रममा विस्फोट हुँदा उनका छोराहरू २६ वर्षीय जंगे परियार र २४ वर्षीय रामचन्द्र परियार घाइते भएका हुन्।
विस्फोटबाट दुवै जनाको शरीरका विभिन्न भागमा चोट लागेको छ। घटनाबारे जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय गजुरीबाट प्रहरी नायब उपरीक्षक सुरज कार्कीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो।
घाइते दुवै जनालाई उपचारका लागि चितवन मेडिकल कलेज (सीएमसी) पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
