पाल्पा । पाल्पाको रैनादेवीछहरा गाउँपालिका–३, बल्गामा अटो दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । दुर्घटनामा घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ ।
बल्गाबाट कटौजे तर्फ आउँदै गरेको नम्बर नखुलेको तीनपाङ्ग्रे अटो अनियन्त्रित भई भित्री कच्ची सडकबाट करिब १५० मिटर तल खस्दा दुर्घटना भएको हो । अटोमा चालकसहित ८ जना सवार रहेकोमा ६ जना घाइते भएका छन् ।
दुर्घटनामा अटो चालक २४ वर्षीय फर्सबहादुर नेपाली, २५ वर्षीया बसन्ती बराल, ३२ वर्षीया हरिकला सारु र २५ वर्षीया मन्जु दर्लामी घाइते भएका छन् । उनीहरूको अवस्था मध्यम रहेको छ ।
त्यस्तै, ३८ वर्षीया यमकला खाम्चाको अवस्था गम्भीर रहेको छ भने उनका ६ वर्षीय छोरा ईजन खाम्चाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
घाइते सबैलाई उपचारका लागि पाल्पास्थित मिसन अस्पताल पठाइएको छ ।
घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय, मुझुङबाट प्रहरी टोली खटिएर आवश्यक उद्धार तथा अनुसन्धान कार्य अघि बढाएको छ ।
दुर्घटनास्थल इलाका प्रहरी कार्यालय, मुझुङबाट करिब २४ किलोमिटर पश्चिम–उत्तरमा पर्दछ ।
