काठमाडौं । बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले नेपालमा कात्तिक १३ र १४ गते भारी वर्षा, चट्याङ तथा हावाहुरीको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ ।
प्राधिकरणले सूचना जारी गर्दै कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यम वर्षा तथा केही स्थानमा भारी वर्षा हुन सक्ने जनाएको छ ।
प्राधिकरणका प्रवक्ता रामबहादुर केसीका अनुसार जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमानअनुसार चक्रवात ‘अरनब’को प्रभाव कात्तिक १३ गते शुक्रबारदेखि नेपालमा पर्न सक्ने अनुमान गरिएको छ ।
चक्रवातको प्रभाव कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा समेत पर्न सक्ने जनाइएको छ । त्यस्तै, उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिमसमेत रहेको प्राधिकरणले जनाएको छ ।
सम्भावित विपद्बाट हुन सक्ने जनधनको क्षति न्यूनीकरण गर्न प्राधिकरणले उच्च पहाडी तथा हिमाली क्षेत्रमा यात्रा नगर्न, अत्यावश्यक कामबाहेक यात्रा नगर्न तथा नदी र खोलाका किनार एवं बाढीको जोखिम भएका क्षेत्रमा नबस्न सर्वसाधारणलाई अनुरोध गरेको छ ।
त्यसैगरी, मौसम पूर्वानुमान तथा आधिकारिक पूर्वसूचनालाई नियमित रूपमा अवलोकन गर्न र विपद्को जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा जान प्राधिकरणले आग्रह गरेको छ ।
प्राधिकरणका अनुसार आपत्कालीन अवस्थामा आवश्यक सहयोग लिन मौसमसम्बन्धी जानकारीका लागि ११५५, विपद् सहायताका लागि १२३४, नेपाल प्रहरीका लागि १०० र पर्यटक प्रहरीका लागि ११४४ मा सम्पर्क गर्न सकिने प्रवक्ता केसीले जानकारी दिए ।
सम्भावित वर्षा, बाढी, पहिरो तथा हिमाली क्षेत्रमा हिमपातको जोखिमलाई ध्यानमा राख्दै सम्बन्धित निकायले जारी गर्ने आधिकारिक सूचना पालना गर्न र आवश्यक सतर्कता अपनाउन प्राधिकरणले सबैमा अनुरोध गरेको छ ।
