डोल्पा । डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ मा भारी हिमपातका कारण ६ जना भारतीय पर्यटक सम्पर्कविहीन भएका छन् ।
गत कात्तिक १४ गते उक्त क्षेत्रमा घुम्न पुगेका भारतीय पर्यटक भारी हिमपातका कारण बाटोमै फसेको जानकारी जिल्ला प्रशासन कार्यालय डोल्पामा प्राप्त भएको हो ।
जिल्ला प्रशासन कार्यालयका अनुसार प्याली कोल्ली, ममता हल्दार, जजला त्रिवेदी कुमारसहित ६ जना भारतीय पर्यटक हिमपातका कारण फसेका छन् । उनीहरूबारे राति करिब ९ बजे प्रशासनलाई जानकारी प्राप्त भएको थियो ।
घटनाबारे जानकारी प्राप्त भएपछि जिल्ला सुरक्षा समितिको बैठक बसेर पर्यटकको उद्धारका लागि हेलिकप्टर परिचालन गर्ने प्रक्रिया अघि बढाइएको छ । उद्धारका लागि आवश्यक समन्वयसमेत भइरहेको प्रशासनले जनाएको छ ।
सञ्चार सम्पर्कमा समस्या भएका कारण फसेका सबै पर्यटकको विस्तृत विवरण प्राप्त हुन सकेको छैन । उनीहरूको अवस्थाबारे थप जानकारी आउन बाँकी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
