सुर्खेत । डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ दानिगडमा भारी हिमपातका कारण अलपत्र परेका ६ जना भारतीय पर्यटकको हेलिकप्टरमार्फत उद्धार भइरहेको छ।
जिल्ला प्रशासन कार्यालय डोल्पाले आइतबार जारी गरेको जरुरी सूचनाअनुसार केही दिनयता भएको अत्यधिक हिमपातका कारण पर्यटकहरू उच्च हिमाली क्षेत्रमा फसेका हुन्। प्रशासनले कात्तिक १४ गते उनीहरू अलपत्र परेको खबर प्राप्त गरेको थियो। त्यसपछि कात्तिक १५ गतेदेखि हेलिकप्टरमार्फत उद्धारकार्य सुरु गरिएको हो।
उद्धार गरिने पर्यटकहरूमा मौमिता हाल्डर, पियाली कोली, जजला त्रिवेद कुमार, आदित्य सिंघा, डिप्लिना बिस्वास र राजेश डे रहेका छन्। उनीहरूमध्ये दुई महिला र चार पुरुष भारतीय नागरिक हुन्।
प्रसिद्ध शे–फोक्सुण्डो तालको अवलोकनका लागि डोल्पा पुगेका उनीहरू भ्रमणका क्रममा अचानक भएको भारी हिमपातका कारण समस्यामा परेका थिए। हिमपातले पदमार्ग पूर्ण रूपमा अवरुद्ध भएपछि उनीहरू गन्तव्यमा पुग्न र फर्कन नसकी उच्च हिमाली क्षेत्रमा अलपत्र परेका थिए।
जिल्ला प्रशासन कार्यालय डोल्पाकी प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालद्वारा जारी सूचनामा पर्यटकहरूको उद्धारकार्य भइरहेको र उनीहरूलाई सुरक्षित स्थानमा ल्याउने प्रयास जारी रहेको जनाइएको छ।
प्रतिकूल मौसमका कारण उच्च हिमाली क्षेत्रमा थप जोखिम निम्तिन सक्ने भन्दै प्रशासनले स्थानीय बासिन्दा तथा पर्यटकलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। साथै, मौसमको अवस्था नबुझी उच्च हिमाली क्षेत्रमा यात्रा नगर्न र सुरक्षित रहन प्रशासनले अनुरोध गरेको छ।
