काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४ किलो लागूऔषध गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन्।
लागूऔषध नियन्त्रण ब्यूरोका अनुसार भारतको उत्तर प्रदेशका ३३ वर्षीय शिवकुमार चौहान पक्राउ परेका हुन्।
बंगलादेश हुँदै बीजी–३७१ उडानमार्फत नेपाल आएका चौहानलाई विमानस्थलमा खटिएको प्रहरी टोलीले शंकास्पद गतिविधिका आधारमा जाँच गर्ने क्रममा पक्राउ गरेको हो।
उनले ल्याएको झोलाभित्र एयर ड्रायर र कुकीज बिस्कुटको बट्टामा लुकाइछिपाइ राखेको अवस्थामा ४ किलो थाई गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले उनको साथबाट एक थान राहदानी र एक थान मोबाइलसमेत बरामद गरेको छ। घटनाबारे लागूऔषध नियन्त्रण ब्यूरोले थप अनुसन्धान गरिरहेको जनाएको छ।
