काठमाडौं । भोलि कात्तिक १६ गतेदेखि सरकारी कार्यालयको समय परिवर्तन हुने भएको छ । जाडोयाम सुरु भएसँगै सरकारले सरकारी कार्यालयको समय बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म निर्धारण गरेको हो ।
नेपाल राजपत्रमा प्रकाशित गृह मन्त्रालयको सूचनाअनुसार कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म सरकारी कार्यालय तथा सार्वजनिक निकाय बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुनेछन् । शैक्षिक संस्थाको हकमा भने यो समयतालिका लागू हुने छैन ।
यसअघि सरकारी कार्यालय बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म सञ्चालन हुँदै आएका थिए । नयाँ समयतालिका लागू भएसँगै कार्यालय समय एक घण्टा घट्नेछ ।
