धनुषा । धनुषामा कटुवा पेस्तोल र गोलीसहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धनुषाधामबाट खटिएको प्रहरी टोलीले धनुषाधाम नगरपालिका–४, गौरीपुर टोलमा चेकजाँच गर्ने क्रममा सिरहाको कल्याणपुर नगरपालिका–५, निर्घिन टोल बस्ने ४० वर्षीया गंगावती महतोलाई पक्राउ गरेको हो।
उनले कम्मरमा बाँधेर लुकाइछिपाइ लैजाँदै गरेको अवस्थामा एक थान कटुवा पेस्तोल र सोमा लाग्ने एक राउण्ड गोली बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेकी महिलालाई नियन्त्रणमा लिएर प्रचलित कानुनबमोजिम कारबाही अघि बढाउनुका साथै घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
