ओखलढुङ्गा । ओखलढुङ्गामा बोलेरो जिप दुर्घटना हुँदा एक वर्षीय बालकसहित ९ जना घाइते भएका छन्।
सोमबार बिहान ७:१५ बजे सिद्धिचरण नगरपालिका–२ खनेखर्कस्थित निशंखे–ओखलढुङ्गा भित्री कच्ची सडकखण्डमा निशंखेबाट चम्पादेवी मन्दिर दर्शन तथा मेला भर्न जाँदै गरेको प्रदेश १-०७-००१ ज ०००५ नम्बरको बोलेरो जिप अनियन्त्रित भई सडकबाट करिब ३५ मिटर तल खसेको हो।
दुर्घटनामा सिद्धिचरण नगरपालिका–२ का सरोज आचार्य, मिरा सार्की, उनका एक वर्षीय छोरा रोयन मंग्राती, सबिन आचार्य, आयुश मंग्राती, प्रशान्त रम्तेल, रमिला नेपाली, उनका ६ वर्षीय छोरा प्रबिन मंग्राती र मिना मंग्राती घाइते भएका छन्।
दुर्घटनालगत्तै प्रहरी टोलीले घाइतेहरूको उद्धार गरी सामुदायिक अस्पताल ओखलढुङ्गा पठाएको छ। घाइतेहरूको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ।
