काठमाडौं । वैदेशिक रोजगारीका नाममा नागरिक ठगीमा पर्ने समस्या समाधानका लागि सरकारले विशेष पहल गर्ने भएको छ।
राजनीतिमा प्रवेश गरेदेखि नै नागरिकबाट वैदेशिक रोजगारीका नाममा हुने ठगीसम्बन्धी गुनासो धेरै सुन्दै आएको उल्लेख गर्दै एक नेताले यस क्षेत्रको सुधारका लागि युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवको नेतृत्वमा नीतिगत तथा प्रक्रियागत सुधारका काम भइरहेको बताएका छन्।
प्रणाली सुधारसँगै वैदेशिक रोजगारीमा जान चाहने नागरिकलाई सही प्रक्रिया, विश्वास गर्नुपर्ने व्यक्ति तथा संस्थाहरू, ठगीबाट बच्ने उपाय र समस्या पर्दा सम्पर्क गर्ने निकायबारे जानकारी गराउनु आवश्यक रहेको उनको भनाइ छ।
यसै उद्देश्यले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र युवा, श्रम तथा रोजगार मन्त्रालयको सहकार्यमा समुदायस्तरसम्म सचेतना पुर्याउने विशेष पहल छिट्टै सार्वजनिक गर्न लागिएको उनले बताएका छन्।
