काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा अनलाइनमार्फत सट्टेबाजी गराएको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भारतको बिहार राज्य, भोजपुर जिल्ला टाउन थाना घर भई हाल काठमाडौं महानगरपालिका–१७ ठमेल बस्दै आएका ३२ वर्षीय सोनु कुमार सिन्हालाई पक्राउ गरेको हो।
कार्यालयका अनुसार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (टीयू) क्रिकेट मैदानमा सञ्चालन भइरहेको तेस्रो संस्करणको नेपाल प्रिमियर लिग–२०२६ का क्रममा केही व्यक्तिले अनलाइनमार्फत सट्टेबाजी गराउने गरेको सूचनाका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो।
सोही क्रममा सिन्हालाई नियन्त्रणमा लिई उनको साथबाट दुई थान मोबाइल फोन बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद मोबाइलको प्रारम्भिक अनुसन्धान गर्दा उनले allpanelexch9.game, apwin247.com, bazimaaro.online र tnbook247.com लगायतका अनलाइन बेटिङ साइटमा लगइन गरी नेपाली रुपैयाँरु ८९ लाख ८१ हजार ७२९ बराबरको कारोबार गरेको खुलेको कार्यालयले जनाएको छ।
पक्राउ परेका सिन्हालाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद–५ अन्तर्गत दफा १२५ (जुवा खेल वा सट्टेबाजी गर्न नहुने) सम्बन्धी कसुरमा थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली काठमाडौं पठाइएको छ।
प्रहरीले खेलकुद प्रतियोगिताको नाममा अनलाइन सट्टेबाजी तथा जुवाजन्य गतिविधि सञ्चालन गर्नेहरूमाथि निगरानी र अनुसन्धानलाई तीव्र बनाएको जनाएको छ।
