काठमाडौं । खेलकुद पोसाक तथा सामग्री उत्पादक ब्रान्ड केल्मी नेपालले रसुवा बाढीबाट प्रभावित नागरिकका लागि राहत तथा सहयोग कार्यक्रम घोषणा गरेको छ।
कम्पनीले बाढी, पहिरो तथा अन्य प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा १५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरिसकेको जनाएको छ।
त्यसैगरी, केल्मी नेपालले आगामी १५ दिनभित्र रसुवा र नुवाकोटमा करिब डेढ करोड रुपैयाँ बराबरका नयाँ कपडा समावेश गरी ‘क्लोथ बैंक’ सञ्चालन गर्ने भएको छ। क्लोथ बैंकमार्फत उपलब्ध गराइने नयाँ कपडा विपद्बाट प्रभावित नागरिकलाई पूर्ण रूपमा निःशुल्क वितरण गरिने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार राहत सामग्री प्रत्यक्ष रूपमा वितरण गर्नुभन्दा नेपाल सरकारले तयार पारेको प्रभावित व्यक्ति तथा परिवारको आधिकारिक सूचीका आधारमा वास्तविक पीडितसम्म सहयोग पुर्याउने व्यवस्था गरिनेछ।
राहत वितरणमा पारदर्शिता कायम गर्दै वास्तविक प्रभावित व्यक्ति तथा परिवारले प्राथमिकताका आधारमा सहयोग प्राप्त गर्ने सुनिश्चितताका लागि सरकारको आधिकारिक सूचीलाई आधार बनाइने केल्मी नेपालले जनाएको छ।
केल्मी नेपालले विगतमा पनि विभिन्न प्राकृतिक विपत्ति तथा अप्ठ्यारो परिस्थितिमा सामाजिक उत्तरदायित्वअन्तर्गत राहत तथा सहयोग गर्दै आएको छ। यसपटक पनि विपद्बाट प्रभावित नागरिकलाई सहयोग पुर्याउने उद्देश्यले सामाजिक दायित्वलाई प्राथमिकतामा राख्दै राहत तथा सहयोग कार्यक्रम अघि बढाइएको कम्पनीको भनाइ छ।
यसैबीच, बाढीका कारण नुवाकोटको त्रिशूलीस्थित केल्मीको सोरुम पूर्ण रूपमा क्षति भएको कम्पनीले जनाएको छ। सोरुम क्षतिग्रस्त भएपछि केल्मी नेपालले विदुर वा आसपासको क्षेत्रमा नयाँ सोरुम विस्तार गर्ने तयारी समेत अघि बढाएको छ।
केल्मी नेपालका प्रबन्ध निर्देशक उत्तम न्यौपानेले विपद्को कठिन अवस्थामा प्रभावित नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराउनु कम्पनीको सामाजिक दायित्व भएको बताए।
