चितवन । चितवनको भरतपुर महानगरपालिका–३ बाट ठूलो परिमाणमा पटाकाजन्य विस्फोटक पदार्थसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवन तथा मातहतका प्रहरी कार्यालयले चाडपर्वलाई लक्षित गरी विभिन्न मितिमा सञ्चालन गरेको सुरक्षा कारबाहीका क्रममा उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरूको साथबाट ६ लाख २३ हजार ४६५ रुपैयाँ बराबरका विभिन्न प्रकारका पटाका बरामद गरेको जनाएको छ ।
प्रहरीका अनुसार बरामद गरिएका पटाकामा झिरझिरे, खुर्सानी, चक्र, रकेटलगायतका सामग्री रहेका छन् । प्रहरीले कुल ८० हजार ३७२ थान पटाका बरामद गरेको हो । बरामद पटाकाको अनुमानित बजार मूल्य ६ लाख २३ हजार ४६५ रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।
पटाकासँगै पक्राउ परेका व्यक्तिहरूको साथबाट एक लाख ७२ हजार ३०० रुपैयाँ नगदसमेत बरामद गरिएको छ ।
पक्राउ पर्नेमा भारतको मोतिहारी निवासी ४१ वर्षीय सञ्जय साह तेली र २९ वर्षीय राज जैसवाल उर्फ कन्हैया कुमार रहेका छन् ।
चाडपर्वका समयमा पटाकाजन्य पदार्थको अवैध ओसारपसार, बिक्री तथा प्रयोगबाट आगलागी, दुर्घटना र मानवीय क्षति हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै प्रहरीले निगरानी तथा कारबाहीलाई तीव्र बनाएको छ ।
पक्राउ परेका दुवै जनामाथि विस्फोटक पदार्थसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कानुनी कारबाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
