चितवन । चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–२७ स्थित राधाकृष्ण सामुदायिक वनको बेथरी खोलानजिक निउरो टिप्न गएका ४६ वर्षीय भीम महतोको बाघको आक्रमणबाट मृत्यु भएको हो ।
प्राप्त जानकारीअनुसार भरतपुर महानगरपालिका–२७ निवासी महतो २०८३ कात्तिक १७ गते दिउँसो करिब २ बजे अन्य तीन जनासहित निउरो टिप्न सामुदायिक वन क्षेत्रमा गएका थिए । सोही क्रममा बाघले महतोलाई आक्रमण गरी जंगलभित्र लगेको थियो ।
घटनापछि महतोसँगै गएका साथीहरूले सोही दिन साँझ ५ बजेर ४५ मिनेटमा इलाका प्रहरी कार्यालय दिव्यनगरमा घटनाबारे जानकारी गराएका थिए । सूचना प्राप्त हुनासाथ नेपाल प्रहरी, चितवन राष्ट्रिय निकुञ्जका कर्मचारी, नेपाली सेना, वन कर्मचारी तथा स्थानीयवासीको संयुक्त टोलीले बेपत्ता महतोको खोजी सुरु गरेको थियो ।
खोजी तथा उद्धार कार्यलाई तीव्रता दिइएको भए पनि तत्काल महतो फेला पर्न सकेका थिएनन् । त्यसपछि २०८३ कात्तिक १८ गते बिहान करिब १० बजेर ५५ मिनेटमा चितवन राष्ट्रिय निकुञ्जभित्र उनको शव फेला परेको प्रहरीले जनाएको छ ।
शव फेला परेको स्थान आसपासमा रहेको बाघलाई समेत सुरक्षाकर्मी तथा प्राविधिक टोलीले डार्ट (बेहोस पार्ने सुई) प्रहार गरी नियन्त्रणमा लिएको छ । बाघ नियन्त्रणमा लिएपछि आवश्यक प्रक्रिया अघि बढाइएको जनाइएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
