सामसुङ ग्रुपका अध्यक्ष लू कुन हीको निधन भएको छ। आफ्नो बुवाले स्थापना गरेको सानो व्यवसायलाई ‘इकोनोमिक पावरहाउस’ बनाउन सफल हीको ७८ वर्षको उमेरमा निधन भएको बीबीसीले उल्लेख गरेको छ।
हीका बुवा लि ब्युङ चुलले सन् १९३८ मा सामसुङ ग्रप स्थापना गरेका थिए। ही भने सन् १९६८ मा उक्त ग्रुपमा प्रवेश गरेका थिए। बुवाको निधनपछि सन् १९८७ मा उनी ग्रुपका अध्यक्ष भएका थिए।
उनको समयमा सामसुङ विश्वकै सर्वश्रेष्ठ प्राविधि कम्पनी बन्न सफल समेत भएको थियो। सन् १९९३ मा उनले आफ्ना कर्मचारीहरुलाई भनेको कुरा निकै चर्चित बनेको थियो। उनले भनेका थिए, ‘ आफ्नो श्रीमती र बालबच्चा बाहेक अब सबै कुरा परिवर्तन गरौं।’
कर छलीको आरोप लागेपछि उनले सन् २००८ मा अध्यक्ष पद छाडेका थिए। उनलाई अदालतले ३ वर्षको जेल सजाय सुनाएको थियो। सन् २००९ मा राष्ट्रपतिले उनको सजाय माफ गरेका थिए। सन् २०१० मा उनी फेरि ग्रुपका अध्यक्ष बनेका थिए। सन् २०१४ मा हर्ट अट्याकपछि उनको स्वास्थ्य अवस्था बिग्रिँदै गएको थियो।
