काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्न ढिलाइ गरिरहेका छन् । पदभार ग्रहण गरेको १० दिन पुगिसक्दा पनि पाँच सदस्यमा सिमित रहेको मौजुदा मन्त्रिपरिषद्लाई पूर्णता दिन सकिरहेका छैनन् ।
कांग्रेस, माओवादी, एमालेको नेपाल समूह, जसपा र राष्ट्रिय जनमोर्चाको समर्थनमा गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त देउवाले यही साउन ३ गते संसदबाट विश्वासको मतसमेत पाइसकेका छन् ।
तर, प्रधानमन्त्रीको सपथ खाँदा चार जना मन्त्रीलाई नियुक्त गरेर सपथ गराएका प्रधानमन्त्री देउवाले त्यसयता मन्त्रिपरिषद् विस्तार गर्न सकिरहेका छैनन् ।
गठबन्धनमा आवद्ध दलहरुबीच शक्ति बाँडफाँटमा सहमति भइनसकेकाले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भइरहेको छ । जसपाको उपेन्द्र यादव र महन्थ ठाकुर दुवै समूह सरकारमा जाने तयारीमा छन् ।
तर, उनीहरुको आन्तरिक विवाद निर्वाचन आयोगको इजलासमा रहेको छ । साउन ११ गते ५१ जनालाई सनाखत गर्न आयोगले आफ्नै कार्यालयमा बोलाएको छ ।
माओवादीले पनि सरकारमा जाने व्यक्तिको नाम टुंग्याएको छैन । यता एमालेको नेपाल समूह पनि सरकारमा जाने भने पनि पार्टीको आन्तरिक विवादका कारण स्पष्ट जवाफ दिन सकेको छैन ।
पार्टीहरुको आन्तरिक विवाद र गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरुबीच औपचारिक रुपमा शक्ति बाँडफाँटको विषयमा छलफल हुन नसक्दा पनि मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भइरहेको हो । मन्त्रिपरिषद् विस्तार गर्न अझै एक हप्ताबढी समय लाग्ने देखिन्छ ।
