चितवन । मनोरञ्जन सहित आत्मरक्षा सिकाउनेगरी भरतपुर ७ कृष्णपुरमा ‘कृष्णपुर तेक्वान्दो डोजाङ तथा बीग डान्स स्टुडियो’ संचालनमा आएको छ । भरतपुर महानगर खेलकुद विकास समितिका अध्यक्ष विकास श्रेष्ठले आज उद्घाटन गर्दै स–सना वालवालिका देखि प्रतिस्पर्धामा रहने खेलाडीहरुले समेत निरन्तर अभ्यास गर्न सक्ने बताउनुभयो । बाहिर पर्याप्त संरचना नहुँदा तेक्वान्दो खेलमा अभ्यास गर्न अभाव भइरहेको र अहिले संचालनमा आएको ठाउँमा दक्ष प्रशिक्षकहरुले तालिम दिने बताउनुभयो ।
निजी रुपमा संचालित भएपनि यसले समाजका महिला पुरुषलाई तेक्वान्दोमा लाग्न प्रेरित गर्ने र नृत्य समेत सिक्न पाइने भएकाले बहुमुखी प्रतिभाको प्रष्फुटन सँगै थप सीप सिक्ने अवसर मिल्ने बताउनुभयो । निजी रुपमा संचालनमा आएपनि यो समाजको चासो र महत्व रहने भएकाले आफ्ना वालवालिकालाई खेलप्रति रुचि जगाउन अभिभावकहरुलाई उहाँको आग्रह थियो । विशिष्ट अतिथि वडानम्वर ७ की वडा सदस्य रिता दर्जीले भरतपुर ७ मा खेलक्षेत्रको विकास राम्रो भएको बताउनुभयो ।
मार्सल आर्ट सिकाइने उक्त स्टुडियो १२ धुर क्षेत्रफलमा करिव २४ लाखको लागतमा सुविधासम्पन्न छ । आफू समेत यसै खेलको खेलाडि भएको र यसैको माध्यमबाट सरकारी सेवामा समेत प्रवेश गर्ने अवसर पाएको बताउनुभयो । यो खेलले आत्मरक्षा र आत्मविश्वास बढाउन ठूलो मद्दत मिल्ने भएकाले आफ्ना बालवालिका पठाएर सहयोग गर्न उहाँको आह्वान छ । अझ बढी महिलाहरुलाई जोड दिएको र आत्मरक्षाको ज्ञान सिकेर आफूलाई सक्षम गराउन उहाँको आह्वान छ ।
२०३९ सालमा जन्मिनुभएको श्रेष्ठलाई तेक्वान्दोमा लाग्न दुई जना दाई कृष्ण र भक्तवीर श्रेष्ठ र बुवाको राम्रो सहयोग रह्यो । तत्कालिन अवस्थामा मार्सल आर्ट खेलेका व्यक्तिहरुलाई माओवादीले लैजान्छ भन्ने डर र समाजले हेर्ने दृष्टिकोण नकरात्मक हुँदाहुँदैपनि तेक्वान्दोमा लाग्नुभएको थियो । अहिले त्यही सीप महिलाहरुलाई सिकाउन आतुर रहेको श्रेष्ठले बताउनुभयो । खेलको सीप लिएपछि मेडल जित्नैपर्छ भन्ने नरहेको र तेक्वान्दोले व्यक्ति आफूलाई सुरक्षित राख्न ठूलो मद्धत मिल्ने उहाँको भनाई छ ।
संगीतको आनन्दमा सिकाइने भएकाले चाँडै र सजिलै सिक्न सकिने समेत उहाँको दावी छ । तेक्वान्दोमै लाग्ने हो भने भविष्यपनि राम्रो भएको भन्दै स्वस्थ र सुरक्षाका लागि यो खेल सिक्न आउन आग्रह गर्नुभयो । भर्ना हुन आउने वालवालिकाहरुलाई पोषाक सहित रु. २ हजार लिएर कक्षा प्रदान गरिएको श्रेष्ठले बताउनुभयो ।
कृष्णपुर खेलमैदान नजिकै संचालनमा आएको उक्त स्टुडियो उद्घाटनका अवसरमा मार्सल आर्टका विभिन्न कला प्रस्तुत गरिएको थियो । कार्यक्रममा चितवन फुटवल संघका अध्यक्ष श्रीकृष्ण कार्की, राष्ट्रिय तेक्वान्दो संघ चितवनका कोषाध्यक्ष बालद गुरुङ, राष्ट्रिय तेक्वान्दो संघ गैँडाकोट नगर समितिका अध्यक्ष गोपाल परियार सहित अभिभावकहरुको सहभागीता रहेको थियो ।

