देवी दुर्गा नौ रुप मध्य पहिलो रूप “शैलपुत्री”का नामले चिनिन्छ । पर्वतराज हिमालयका घरमा पुत्रीरूपमा उत्पन्न भएका कारण उनलाई शैलपुत्री भनिएको हो । नवरात्रको पहिलो दिन उनकै पूजा र उपासना गरिन्छ । यिनको वाहन भृषभ हो, त्यसैले वृषारुढा पनि भनिन्छ । यिनको दायाँ हातमा त्रिशूल र बायाँ हातमा कमल सुशोभित छ । यिनलाई सतीका नामले पनि चिनिन्छ । सतीका विषयमा एउटा मार्मिक कथा छ:-
एकपटक दक्ष प्रजापतिले यज्ञ गरे । त्यसमा सबै देवता र विष्णुलाई निमन्त्रणा गरियो, तर शिवलाई बोलाइएन । सतीले आफ्ना पिताले यज्ञ गरेका र आफूहरूलाई नबोलाएको थाहा पाइन् । विशेषगरी आफ्ना पतिलाई नबोलाएकोमा चिन्तित बनेकी सती त्यहाँ जान चाहिन् । शिवले उनलाई त्यहाँ जानबाट रोक्न खोजे, तर उनले मानिनन् । उनको प्रबल आग्रह देखेर शिवले आज्ञा दिए।
यज्ञस्थलमा पुगेपछि उनका बुबा दक्ष प्रजापतिले शिवलाई तथानाम गाली गरे । उनको शिवप्रतिको अपमानजनक शब्दहरू सुनेर सतीलाई अत्यन्तै दुःख लाग्यो । त्यो अपमान उनले सहन सकिनन् र यज्ञको अग्निमा हामफालिन् ।
आफ्नी पत्नीले यज्ञाग्निमा प्राण त्यागेको सुनेर व्यथित भएका शिवले यज्ञमा विध्वंस उत्पन्न गराए र सतीको शरीर आफ्नो काँधमा बोकेर मृत शरीरका अङ्गहरू कुहिएर नझरुञ्जेल यात्रा गरिरहे । सतीका अङ्गहरू जहाँजहाँ खसे, त्यहीँत्यहीँ शक्तिपीठ स्थापित भए।
तिनै सती अर्को जन्ममा हिमालयकी छोरीका रूपमा जन्मिन् र शैलपुत्री कहलाइन् । उनको विवाह पनि शिवसँगै भयो । उनलाई पार्वती र हेमवती भनेर चिनिन्छ।
