दुर्गाको चौथो रूप हो कुष्माण्डा । अण्ड अर्थात् ब्रह्माण्ड उत्पन्न गरेका कारण यिनलाई कुष्माण्डा भनिएको हो । जब सृष्टि थिएन र चारैतिर अन्धकार थियो, यिनै देवीले ब्रह्माण्ड रचना गरेकी थिइन् । त्यसैले यिनलाई सृष्टिको आदिस्वरूपा या आदिशक्ति मानिन्छ।
यिनका आठ भुजा छन्, त्यसैले अष्टभुजा पनि भनिन्छ । यिनका सात हातमा क्रमशः कमण्डलु, धनुष, बाण, कमलपुष्प, अमृतपूर्ण कलश, चक्र, तथा गदा छन् । आठौं हातमा जपमाला छ । यिनको वाहन सिंह हो । यिनी सौर्यमण्डलभित्रको लोकमा बस्छिन्, जहाँ रहने क्षमता उनमा मात्रै छ । यिनकै तेजले सबै दिशा आलोकित छन् । ब्रह्माण्डका सबै वस्तु र प्राणीहरूमा यिनकै तेज व्याप्त छ । यिनको उपासना गर्नाले रोग र शोक नाश हुन्छ । आयु, यश, बल र आरोग्य प्राप्त हुन्छ । विधिपूर्वक पूजा गर्ने हो भने साधकले सूक्ष्मभावको अनुभव गर्न सक्छ।
