दुर्गाको छैटौं रूपको नाम कात्यायनी हो । कात्य गोत्रमा प्रसिद्ध महर्षि कात्यायनले भगवती पराम्बाको उपासना गरेका थिए । उनले पुत्री प्राप्त होस् भनेर कठिन तपस्या गरेको फलस्वरूप भगवतीले उनको घरमा पुत्रीका रूपमा जन्म लिइन् । त्यसैले यिनलाई कात्यायनी भन्न थालियो।
श्रीकृष्णलाई पतिरूपमा पाउनका लागि ब्रजका गोपिनीहरूले यिनकै पूजा गरेका थिए । यिनको स्वरूप अत्यन्त भव्य र दिव्य छ । सुनजस्तै चम्किली छिन् । यिनका चार भुजा छन् । दायाँतर्फको माथिल्लो हात अभयमुद्रामा छ र तल्लो हात वरमुद्रामा । बायाँतर्फको माथिल्लो हातमा तलबार र तल्लो हातमा फूल छ । यिनको वाहन सिंह हो । यिनको विधिपूर्वक उपासना गर्नाले परमपद प्राप्त हुन्छ।
