स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले एचआईभी नियन्त्रणमा नेपालले उल्लेखनीय उपलब्धि हासिल गरेको बताउनुभयो ।
शुक्रबार ३६ औं विश्व एड्स दिवसको अवसरमा स्वास्थ्यमन्त्री बस्नेतले सन् २०१० देखि २०२२ सम्म १२ वर्षको अवधिमा नयाँ एचआईभी सङ्क्रमण दर ७७ प्रतिशतले घट्नु र एड्सका कारण हुने मृत्यु ८० प्रतिशतले घट्नु यो क्षेत्रका लागि ठूलो उपलब्धि भएको जिकिर गर्नुभयो ।
नेपालबाट सन् २०३० सम्म एचआईभी उन्मुलन गर्ने लक्ष्य प्राप्त चुनौतिपूर्ण भएकाले एचआईभी उन्मुलनका लागि समुदायसँग हातेमालो गर्न स्वास्थ्य मन्त्रालय तयार रहेको मन्त्री बस्नेतले उल्लेख गर्नुभयो ।
राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले शुक्रबार आयोजना गरेको कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा.आरपी बिच्छाले एचआईभी सङ्क्रमण दर घटाउन नेपालले सफलता हासिल गरेको भए पनि अन्त्य गर्न अझै चुनौति रहेको बताउनुभयो । अहिले पनि समाजमा एचआईभी सङ्क्रमित प्रति गरिने भेदभाव व्याप्त रहेकाले त्यसलाई कम गर्न समाजका सबै पक्षको सहकार्य हुनु पर्नेमा उनले जोड दिनुभयो ।
मन्त्रालयका सचिव देवकुमारी गुरागाईले एचआईभी पनि अन्य रोग जस्तै औषधिको सेवनले निको हुने भएको बताउनुहुँदै यसको सङ्क्रमितमाथि हुने भेदभाव अन्त्य गर्न जनचेतना विस्तारमा जोड दिनु पर्ने आवश्यकता रहेको बताउनुभयो ।
विश्व स्वास्थ्य संगठनका प्रतिनिधिले नेपालले एचआईभी सङ्क्रमण दर घटाउनमा गरेको काम प्रशंसनीय भए पनि चुनौति बाँकी नै रहेको बताउनुभयो ।
यसैगरी, कार्यक्रममा राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा.सञ्जय ठाकुरले नेपालमा सन् २०२२ को अन्त्यसम्म करिब ३० हजार एचआईभी सङ्क्रमित रहेको जानकारी दिनुहुँदै अबको चुनौति सामना गर्न समुदायको नेतृत्व आवश्यक रहेकोमा जोड दिनुभयो । यो वर्षको नारा नै समुदायको नेतृत्वमा एड्स अन्त्य गरौं रहेको बताउनुहुँदै डा. ठाकुरले सबै पक्षको सहयोग र सहकार्यमा सन् २०३० सम्म एचआईभी अन्त्य गर्न सकिने दाबी गर्नुभयो ।
