प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इञ्जिनियरहरू राष्ट्र निर्माणका संवाहक भएको बताउनुहुँदै स्तरीय र आधुनिक पूर्वाधार निर्माणमा जोड दिन आग्रह गर्नुभएको छ ।
बुधबार काठमाडौंमा आयोजित १६ औं राष्ट्रिय इञ्जिनियर सम्मेलनमा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्रीले इन्जिनियरहरू राष्ट्रनिर्माणका संवाहक भएको बताउँदै पूर्वाधार निर्माणअन्तर्गत देशलाई समृद्ध बनाउन, सडक यातायात कलकारखाना उर्जा, सूचना प्रविधि, कृषि, पर्यटन आदि सबै क्षेत्रमा प्रगतिको जरूरी रहेको बताउनुभएको हो ।

प्रधानमन्त्रीले भन्नुभयो, ‘‘इन्जिनियरहरू राष्ट्रनिर्माणका संवाहक हुन् । देशमा विकास निर्माणका कामहरू भइरहेका छन्, पूर्वाधार निर्माणअन्तर्गत देशलाई समृद्ध बनाउन, सडक यातायात कलकारखाना उर्जा, सूचना प्रविधि, कृषि, पर्यटन आदि सबै क्षेत्रमा प्रगतिको जरूरत छ ।’’
त्यसका लागि राष्ट्रमा विज्ञान र प्रविधिको विकास तथा त्यसको उपयोगिताको आवश्यक रहेकोमा प्रधानमन्त्रीले जोड दिनुभयो ।
प्रधानमन्त्रीले आफू इन्जिनियरिङ स्टाफ कलेजको स्थापनाका लागि सकारात्मक भएकोसमेत बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘नेपाल इन्जिनियर्स एशोसिएसनले इन्जिनियरहरूको क्षमता अभिवृद्धि, पेशागत विकास तथा उन्नयनका निम्ति विगत लामो समयदेखि इन्जिनियरिङ स्टाफ कलेजको स्थापना गर्ने विषयमा जोड दिँदै आएको छ । तर्पाइहरूको यो चासो र मागलाई मैले सकारात्मक रूपमा लिएको छु ।’’

प्रधानमन्त्रीले ‘‘आगामी दिनमा सरकारले आफ्ना गतिविधिहरूलाई पूर्वाधार निर्माणतर्फ लक्षित गर्नुपर्ने भएकाले संघ, प्रदेश र स्थानीय संरचनामा इन्जिनियर एवम् प्राविधिक जनशक्तिको समुचित परिचालन र व्यवस्थापन हुन जरूरी’’ रहेको बताउनुभयो ।
प्रधानमन्त्रीले गर्नुभएको सम्बोधनको पूर्णपाठ
नेपाल इन्जिनियर्स एशोसिएसनको १६ औं राष्ट्रिय सम्मेलनमा प्रमुख अतिथिको रुपमा निमन्त्रणा गर्नुभएकोमा वर्तमान कार्यकारिणी समिति तथा सम्पूर्ण इन्जिनियर/आर्किटेक्ट समुदायमा हार्दिक बधाइ व्यक्त गर्दै कार्यक्रमको भव्य सफलताको कामना गर्दछु ।
इन्जिनियरहरू राष्ट्रनिर्माणका संवाहक हुन् । देशमा विकास निर्माणका कामहरू भइरहेका छन्, पूर्वाधार निर्माणअन्तर्गत देशलाई समृद्ध बनाउन, सडक यातायात कलकारखाना उर्जा, सूचना प्रविधि, कृषि, पर्यटन आदि सबै क्षेत्रमा प्रगतिको जरूरत छ । यसका लागि राष्ट्रमा विज्ञान र प्रविधिको विकास तथा त्यसको उपयोगिताको आवश्यकता छ । यो सबै कार्यमा प्राविधिक जनशक्तिको भूमिका महत्त्वपूर्ण हुन्छ ।
नेपालका दूरदराजमा आफ्नो जिम्मेवारी वहन गर्दै कार्यक्षेत्रमा खटिनुभएका इन्जिनियरहरू आज एकैस्थानमा भेला भई आफ्ना अनुभव साटासाट गरी आपसी एकता, सदभाव तथा सहकार्यको वातावरण निर्माण गर्नमा समेत यो सम्मेलनले महत्त्वपूर्ण भूमिका खेल्ने मैले विश्वास लिएको छु ।
मैले जानकारी पाएको छु, नेपाल इन्जिनियर्स एशोसिएसनले इन्जिनियरहरूको क्षमता अभिवृद्धि, पेशागत विकास तथा उन्नयनका निम्ति विगत लामो समयदेखि इन्जिनियरिङ स्टाफ कलेजको स्थापना गर्ने विषयमा जोड दिँदै आएको छ । तर्पाइहरूको यो चासो र मागलाई मैले सकारात्मक रूपमा लिएको छु । एशोसिएसनको यो मागलाई सम्बोधन गर्न नेपाल सरकारको तर्फबाट सम्भव प्रयास गरिने विषय पनि म तपाईहरूलाई स्पष्ट पार्न चाहन्छु ।

अब परिस्थिति बदलिएको छ, वर्तमान सरकारले सामाजिक न्याय, सुशासन र सामाजिक न्यायलाई प्रमुख प्राथमिकताका साथ आफ्नो कार्यसम्पादन गरिरहेको छ । मेरो तेस्रो कार्यकालको पहिलो वर्षमा भ्रष्टाचार नियन्त्रण गरी सुशासनको प्रत्याभूति, अर्थतन्त्रका चुनौतीहरू सम्बोधन गर्दै अगाडि बढिरहेको छ । यो लक्ष्य पूरा हुन आगामी दिनमा सरकारले आफ्ना गतिविधिहरूलाई पूर्वाधार निर्माणतर्फ लक्षित गर्नुपर्ने भएकाले संघ, प्रदेश र स्थानीय संरचनामा इन्जिनियर एवं प्राविधिक जनशक्तिको समुचित परिचालन र व्यवस्थापन हुन जरूरी छ ।
आधुनिक विकासको मुख्य प्राथमिकता भनेको पूर्वाधारहरू नै हुन् । सडक, लोकमार्ग, उर्जा, विद्युत, सञ्चार, विमानस्थल, सिँचाइ, खानेपानी तथा ढल निकासका ठूला परियोजनाहरू गुणस्तरीय निर्माणद्वारा तोकिएकै समयमा सम्पन्न गर्न सक्यौँ भने मात्र आर्थिक विकासको ढोका खुल्न सक्छ, जसको फलस्वरूप वृहत् आर्थिक पूर्वाधारको मार्ग पहिल्याउन सक्छ ।
विद्यमान अवस्थामा ठूलो पूर्वाधारको अभावमा राज्यको ठूलो हिस्सा विकासको प्रतिफलबाट टाढा छ । विकास निर्माण गर्नु भनेको लामो तर जटिल प्रक्रिया हो । यसले समान्य रुपमा गतिलिन सक्यो भने कुनै पनि आयोजना तोकिएको अवधिभित्र सम्पन्न गर्न सकिन्छ, अनावश्यक विवाद र झमेलाका कारण विलम्ब भइदिँदा समयसीमाभित्र सम्पन्न हुन नसकेको विकास आयोजनाहरूमा लागत बढ्दै जाँदा राज्यलाई थप आर्थिक भार पर्न गएको विद्यमान अवस्था रहेको हामीले अनूभूति गरेका छौं । यस्ता कठिनाइहरूलाई चिर्दै अब्वल व्यवस्थापकीय ढंगबाट आफ्नो ज्ञान र सीपको सदुपयोगद्वारा भौतिक पूर्वाधार निर्माणको गतिलाई तीब्रताका साथ अगाडि बढाउँदै समयमै परिणाम निकाल्न सकिएमा मात्र जनताको मुहारमा खुशी ल्याउन सकिनेछ, जुन कुराको सामर्थ्यता र समाधान तपाई प्राविधिक जनशक्तिबाट मात्र सम्भव हुन्छ ।

विकास र इन्जिनियर एक आपसका परिपूरक हुन् । देश विकासको गतिलाई द्रूतरूपमा अगाडि बढाउन इन्जिनियर समुदायकोे भूमिकालाई अभिवृद्धि र प्रोत्साहनपूर्वक प्रयोग गर्न सकेमा मात्र विकास र समृद्धिको एजेण्डाले सार्थकता पाउनेछ ।
नेपालको राजनीतिले सङ्क्रमणकाल पार गरी अब स्थायित्वतर्फ अग्रसर भएको छ । राजनीतिक दलहरूले गरेको प्रतिवद्धता र वाचाहरूलाई पूरा गर्ने चुनौतीपूर्ण अवसर हामीले प्राप्त गरेका छौँ । त्यसलाई प्रत्यक्ष रूपमा देख्ने अनुभूति गर्ने लक्षित वर्गका आशाले अझै सहारा खोजिरहेको छ । त्यसकारण इन्जिनियरहरूले पूर्वाधार निर्माणको विषयलाई सधै जनताको जीवनशैलीसँग जोडेर हेर्नुपर्दछ । तपाईहरूले निर्माण गर्ने पूर्वाधारहरूले जनताको आवश्यकता र आकांक्षा पूरा गर्ने र देश समृद्ध हुँदै जाने लक्ष्य प्राप्त गर्नुपर्दछ ।
समाजका लागि ठूलो मान्छे होइन असल मान्छे चाहिन्छ । तपाईहरूका सिर्जना, कला र सीपबाट बनेको पूर्वाधार संरचना मानव जीवन उपयोगी र अनुपम हुनुपर्दछ । तर द्रूततर विकास निर्माणबाट प्राकृतिक वातावरणमा प्रतिकुल असर पनि परिरहेको छ । नेपालको पर्यावरणमा यसको प्रत्यक्ष प्रभाव देखा परिरहेको छ । यस्तो प्रतिकूल प्रभावलाई न्यूनीकरण गर्ने, वातावरणीय अनुकूलताका उपायहरू अवलम्बन गर्ने र भइपरि आउने प्राकृतिक विपद्बाट जनधन र सम्पत्ति सुरक्षाका उपायहरूको सुरक्षणसहितको पूर्वाधार निर्माण गर्न सुझाउने काम पनि तपाई इन्जिनियरहरूले नै गर्नुपर्दछ । यो राष्ट्रिय सम्मेलनमा नेपालको समृद्धि र विकासको लागि अबको मार्ग के हुनपर्दछ ? त्यसलाई यो २ दिनको कार्यक्रममा बहस, छलफल गरी इन्जिनियर समुदायको प्रतिष्ठालाई अभिवृद्धि गर्ने उद्देश्यबाट प्रेरित भई देशको आगामी दिशा र लक्ष्य निर्धारण गर्नुहुनेछ भन्ने विश्वाससमेत व्यक्त गर्दछु ।
अन्त्यमा, तपाईहरूको यो सम्मेलनबाट प्राप्त निचोडले नेपाल सरकारलाई देशको विकासका लागि नीति निर्माण गर्न महत्त्वपूर्ण सहयोग पुग्ने विश्वाससहित फेरि एकपटक सम्मेलन सफलताको शुभकामना व्यक्त गर्दछु । धन्यवाद ।
