चितवन, असोज ११ । नहर एरिया टोल विकास संस्थाको दसौं साधारणसभा तथा छैटौं अधिवेशन शनिबार संस्थाको कार्यालय परिसरमा भव्यरुपमा सम्पन्न भएको छ। अधिवेशनले पुनः रामजी सिंह ठकुरीलाई सर्वसम्मत रुपमा टोल अध्यक्षमा चयन गर्दै नयाँ कार्यसमिति घोषणा गरेको छ।
कार्यक्रममा उपस्थित सम्पूर्ण टोलवासी बुबाआमा, दाजुभाइ तथा दिदीबहिनीहरूलाई सम्बोधन गर्दै अध्यक्षमा निर्वाचित भएका रामजी सिंह ठकुरीले आफूलाई दोस्रोपटक नेतृत्व गर्ने अवसर दिएकोमा हार्दिक आभार व्यक्त गरे। उनले भने, “यो पद मेरो व्यक्तिगत जित मात्र होइन, हाम्रो टोलप्रतिको सामूहिक भावनाको अभिव्यक्ति हो। तपाईँहरूले दिएको यो विश्वासलाई कहिल्यै भंग हुन दिने छैन।”
उनले आफ्नो पहिलो कार्यकालमा पारदर्शी काम र सहकार्यको आधारमा टोल विकासलाई अघि बढाइएको स्मरण गर्दै दोस्रो कार्यकालमा अझ प्रभावकारी ढंगले काम गर्ने प्रतिबद्धता जनाए। “तपाईँहरूको अटुट विश्वास र अमूल्य सहयोग नै मेरो प्रेरणाको स्रोत हो। हातेमालो गर्दै हाम्रो टोलको समुन्नति र उज्ज्वल भविष्यका लागि अघि बढ्नेछौँ,” ठकुरीले थपे।
अधिवेशनले आगामी कार्यकालका लागि ११ सदस्यीय कार्यसमिति चयन गरेको छः
१) अध्यक्ष – रामजी सिंह ठकुरी
२) उपाध्यक्ष – जानकी शर्मा पौडेल
३) सचिव – केशब राज पौडेल
४) सह–सचिव – बिपिन कंडेल
५) कोषाध्यक्ष – प्रकाश चन्द्र सापकोटा
६) सह–कोषाध्यक्ष – बिष्णु पौडेल
७) सदस्य – मिरा राई
८) सदस्य – डिला राम कंडेल
९) सदस्य – दिपा के.सि. भण्डारी
१०) सदस्य – हेमा थापा
११) सदस्य – डिल प्रसाद लामिछाने
यस्तै, संस्थाको सल्लाहकारमा कमल चन्द्र खनाल, श्याम नन्द सुवेदी, कुल बहादुर थापा र राजु थापा चयन भएका छन्।
कार्यक्रममा टोलवासीको उत्साहपूर्ण सहभागिता देखिएको थियो। सहभागीहरूले टोल विकासका मुद्दा, आगामी योजनाहरू, पारदर्शिता र सहकार्यका विषयमा विचार–विमर्श गरे। टोलका वृद्धवृद्धा, युवा तथा महिला दिदीबहिनीहरूको उल्लेख्य उपस्थिति रहेकाले कार्यक्रम जीवन्त बनेको थियो।
स्थानीय बक्ताहरूले नयाँ नेतृत्वलाई बधाई दिँदै विकास, सरसफाइ, सामाजिक सद्भाव र टोलका साझा समस्या समाधानमा सक्रिय भूमिका खेल्न सुझाव दिए।
नहर एरिया टोल विकास संस्थाले विगतमा विभिन्न सामाजिक गतिविधि, सडक मर्मत, सरसफाइ अभियान, सांस्कृतिक कार्यक्रम र आपत्कालीन सहयोगजस्ता काम गर्दै आएको छ। नयाँ कार्यसमितिबाट पनि यस्तै निरन्तरता रहने अपेक्षा गरिएको छ।
अध्यक्ष रामजी सिंह ठकुरीको शब्दमा, “टोलवासी सबैको निरन्तर साथ र सहयोगले मात्र हाम्रो टोल अझ सबल र समुन्नत बन्न सक्छ।”
