झापा । बिर्तामोड नगरपालिका–५ मा एक युवतीलाई हातखुट्टा तथा घाँटी बाँधेर शरीरमा पेट्रोल छर्की आगो लगाउन खोजेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।
प्रहरीका अनुसार असोज १२ गते राति करिब १०ः३० बजे इलामको रोङ गाउँपालिका–३ घर भई हाल बिर्तामोड–५ मा डेरामा बस्दै आएकी २२ वर्षीया रविना मगरको कोठामा भारतको किशनगञ्ज जिल्ला, कदमगाछी थाना पछाड कट्टा ग्राम पञ्चायत घर भई हाल बिर्तामोड–५ स्थित अमृत भोग मिठाई पसलमा काम गर्दै आएका ४२ वर्षीय दिलिप चन्द्र राय प्रवेश गरेका थिए ।
मादक पदार्थ सेवन गरी पेट्रोलसमेत लिएर कोठामा पुगेका रायले तन्ना च्याती मगरको हातखुट्टा तथा घाँटी बाँधेर शरीरमा पेट्रोल छर्की आगो लगाउन खोजेको प्रहरीले जनाएको छ ।
घटनाबारे जानकारी प्राप्त भएपछि प्रहरी टोली तत्काल घटनास्थलमा पुगेर रायलाई नियन्त्रणमा लिएको हो । घटनामा घाइते मगरलाई उपचारका लागि मनमोहन अस्पताल, बिर्तामोड लगिएको छ ।
पक्राउ परेका रायविरुद्ध घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
