भरतपुर । जिल्लामा कोरोना भाईरस (कोभिड १९) नियन्त्रण र उपचारको नेतृत्व गर्नुभएको भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीलाई कोरोना (कोभिड १९) संक्रमण पुष्टि भएको छ । आज बिहीबार आफूलाई कोरोना संक्रमण पुष्टि भएको अधिकारीले कान्तिपुर हेल्थलाई जानकारी दिनुभएको हो ।
उहाँलाई सामान्य लक्षण देखिएको छ । उहाँ भरतपुर महानगरपालिका वडा नं. ९ स्थित आफ्नै निवासमा आइसोलेसनमा बस्नुभएको छ । कोभिड संक्रमणको सुरुवातदेखि नै उहाँ अग्रपंतीमा रहेर नागरिकको उपचारमा खटिनुभएको थियो । उहाँ पुष्पाञ्जली अस्पतालका सञ्चालक समेत हुनुहुन्छ । जिल्लामा सरकारी भरतपुर अस्पताल, दुई मेडिकल कलेजपछि निजी अस्पतालमध्ये पुष्पाञ्जलीले मात्रै कोरोनाका बिरामीको उपचार गर्दै आएको छ । जिल्लामा कोरोना संक्रमण भित्रिने अघि नै स्थापना गरिएको भरतपुर कोरोना (अस्थाई) अस्पतालको प्राविधिक तर्फको नेतृत्व डा. अधिकारीले नै गर्दै आउनु भएको थियो ।
जिल्लामा कोरोना रोग रोकथाम र नियन्त्रणका लागि भरतपुर अस्पतालले नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ । त्यसको नेृतृत्व अधिकारीले गर्दै आउनु भएको छ । आफै संक्रमित भए पनि संक्रमितहरुको उपचारमा कुनै किसिमको बाधा नपर्ने उहाँले बताउनुभयो । आफू आईसोलेसनमा रहेर पनि उपचार र नियन्त्रणका लागि भूमिका खेलिरहने उहाँले कान्तिपुर हेल्थलाई बताउनुभयो ।
