काठमाडौं । मछिन्द्र फुटबल क्लबले एएफसी कप छनोट खेल्ने भएको छ । जारी सहिद स्मारक ‘ए’ लिग अन्तर्गत सातौं चरणको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई १-० गोलअन्तरले हराउँदै डिफेन्डिङ च्याम्पियन मछिन्द्रले दोस्रोपटक एएफसी कप छनोटमा खेल्ने भएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा मछिन्द्रका लागि सुनिल बलले पहिलो हाफमा गरेको एक मात्रै गोल निर्णायक बनेको थियो ।
अघिल्लो सिजन च्याम्पियन भएपनि एएफसी क्लब लाइसेन्स नभएकाले मछिन्द्रले एएफसी कप क्वालिफायर खेल्ने अवसर गुमाएको थियो । यसपटक भने मछिन्द्रसँगै आर्मी, मनाङ र एपीएफले क्लब लाइसेन्स पाएका थिए । यी चार क्लबमध्येमा अगाडि रहँदै मछिन्द्रले एएफसी कप छनोट खेल्ने अवसर पाएको हो ।
अर्को दाबेदार मनाङले शनिबार पोखरा रंगशालामा ब्रिगेड ब्वाइज क्लब (बीबीसी)लाई १-० ले हराउँदै शीर्षस्थानमा पुनरागमन गरेसँगै मछिन्द्रलाई छनोटका लागि पुलिसविरुद्ध जित्नै पर्ने दबाब थियो । बराबरी वा हारले टोलीको एएफसी कप छनोटको सम्भावना टुंगिने थियो ।
