काठमाडौं – गायक प्रकाश सपुतको नयाँ गीत ‘पीर’ विवादमा आएको छ । माओवादी जनयुद्धका कथावस्तुमा तयार पारिएको गीतको भिडियोलाई लिएर सत्तारुढ नेकपा माओवादी केन्द्रनिकट चार संगठनले विरोध जनाउदै हटाउन चेतावनी दिएका छन् ।
रिलिजको २४ घण्टा नबित्दै माओवादी केन्द्का नेताहरुले भिडियोमा समाबेश केही दृष्यहरुमाथी प्रश्न गरेका थिए । केही नेताहरुले भने यस गीतको समर्थन पनि गरेका छन् । भिडियोलाई लिएर माओवादी केन्द्रनिकट चार संगठनले तत्काल युट्युबबाट हटाएर माफी माग्न सपुतलाई चेतावनी दिएका छन् ।
जनक्रान्तिका घाइते तथा अपांग योद्धा संघका इन्चार्ज दिपेन्द्रकुमार पुन, अखिल नेपाल महिला संघ (क्रान्तिकारी) का अध्यक्ष अमृता थापा मगर, जनसांस्कृतिक महासंघका अध्यक्ष मातृका पोखरेल र प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटाले संयुक्त विज्ञप्ति जारी गर्दै चेतावनी दिएका हुन् ।
विज्ञप्तिमा भनिएको छ – ‘भिडियोको सारवस्तु समग्रमा ऐतिहासिक जनआन्दोलन, दश वर्षे जनयुद्धमा होमिएका महिलालाई देहव्यापार र पुरुषलाई परस्त्रीगमनजस्तो अनैतिक कार्यसँग तुलना गर्नु÷जोड्नु अत्यन्तै दुखद र आपत्तिजनक छ । तसर्थ नितान्त पूर्वाग्रही, झुट र भ्रामक कार्यगर्नेउपर कानुनी कारबाही गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउँछौं ।
