चितवनकै ठूलो आयोजना मध्येको पूर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने गोन्द्राङ्ग –पुलचोक ६ लेन सडकखण्डको निर्माणमा लापरवाही र ग्रैह्र जिम्मेवारी भएको पाईएको छ । २०७७ कार्तिक १ देखि निर्माण शुरु भई २०७९ फागुन १० गतेसम्म निर्माण सम्पन्न गर्ने जिम्मा पाएको इन्डो सगुन जेभी कम्पनी, रुपन्देहीले निर्माण र विस्तारको काममा ढिला सुस्ती र लापरवाही गर्दा स्थानीय तथा व्यवसायी लाई सास्ती र सकस भएको छ । अब मात्र चार महिना मात्र सम्झौता अवधि बांँकी रहंँदा कम्पनीले चौबीसकोठी सम्म मात्र विस्तारको काम गरेको देखिएको छ । चौबीसकोठीसम्म सडक छेउ को लेनमा मात्र कालोपत्रे बनाउने काम बाहेक अन्य कुनै काम सम्पन्न गर्न सकेको छैन ।
कालोपत्रे बाहेक अन्य ड्रेनको कमजोर संरचनाका कारण कतिपय ठाउंँमा भत्किएको र चर्किएको सजिलै देख्न सकिन्छ । पटक पटक ठेकेदार कम्पनीलाई यसबारे खबरदारी गर्दा पनि शक्ति र पहुंँचको भरमा आलटाल गरिरहेको छ । निर्माण कम्पनीको चरम लापरवाहीका कारण दुर्घटनाको जोखिम उस्तै बढेको छ । यही संरचनाका कारण यो सडकमा सवारी दुर्र्घटना पनि बढेका छन । घाम लाग्दा धुलो र पानी पर्दा हिलो र डुबान यो सडकको नियतिनै बनेको छ ।
बाटो छेउमा रहेका स्थानीय व्यवसायीहरु पनि दिनभरको धुलोले हैरान छ भने वातावरण प्रदुषणका कारण मानव स्वास्थ्यमा समेत गम्भिर असर पर्ने देखिन्छ । चाडबाडको बेलामा त झन हजारौं यात्रुले सास्ती खेप्नु परेको छ ।निर्माण कम्पनीले चार महिना बांँकी रहंँदा पनि झिनो रुपमा काम नसक्दा नत सरोकारवालाको ध्यान गएको छ । नत कम्पनीले जिम्मेवार रुपमा काम गर्न सकेको छ । विभिन्न बहानामा काम ढिला भएको भन्दै निर्माण कम्पनीका प्रतिनिधि पन्छिने गर्दै आएका छन । कम्पनीका प्रबन्ध निर्देशक सहदेव खड्का गत बैशाख देखिनै पानी पर्दै आएकोले काम द्रुत गर्न नसकिएको भन्दै पन्छिदै आएका छन ।
झण्डै १ अर्ब १३ करोड लागतमा बन्न लागेको यो सडकखण्ड कहिले बन्ला भन्ने स्थानीय बासी समेत चिन्तित बनेका छन । ‘हामीले त समयमै काम सम्पन्न गर्नेलक्ष्य लिएका थियौं नी के गर्र्नु गत बैशाख देखि पानी परेको परेयै छ ।’ उनले भने । निर्माण सम्पन्न हुने चार महिना मात्र बांकी रहंँदा प्रबन्ध निर्देशक खड्काले आगामी असार मसान्त सम्म निर्माण सम्पन्न गर्ने लक्ष्य भएको बताए । सडक विस्तारका लागि हटाउनु पर्ने संरचना ढिला हटाईएको , सरकारी निकायका प्रक्रिया, स्वीकृतीका कारण निर्माणमा बाधा पुगेको उनको भनाई थियो ।
निर्माण कमपनीले हालसम्म ४५ प्रतिशत निर्माण सम्पन्न भएको दाबी गरेपनि खासै प्रगति भएको देखिदैन । ६ दशमलब ८ किलोमिटर दुरी लामो भएको सडक चौवीसकोठीसम्म केही मात्रामा प्रगति देखिएपनि चौबीसकोठीबाट पुलचोक सम्म काम नै शुरु नभएको देखिन्छ । अहिले एक्सप्रेस वेमा बेस र सभ बेसको काम भइरहेको छ । सर्भिसलेनमा डिभिएमको पहिलो लेयरको काम भइसकेको छ । एक्सप्रेस वेमा बेस र सभ बेसको काम सकेर पहिलो लेयरको काम सकिएपछि सर्भिसलेन र एक्सप्रेस वेमा दोस्रो र तेस्रो लेयरको काम सुरु हुन्छ’, उनले भने । केही ठाउँमा ड्रेन कभर हाल्न बाँकी रहेको छ । तिहारपछि चौबिसकोठीदेखि पुल्चोकसम्मको काम पनि सुरु हुनेछ ।
सो खण्डमा बिजुली पोल, खाने पानीको पाइप र केही घर भत्काउन पर्नेछ । यस्तै विजुलीको पोल हटाउनका लागि उत्तिकै समय लाग्ने देखिन्छ । अबको चार महिनामा चौबीसै घण्टा काम गरेपनि काम सम्पन्न हुनेछांँटकांँट छैन । भरतपुर ओरालोमा सडकमा पर्ने केही घर तत्काल नभत्काउनका लागि स्टे अर्डर जारी भएको सडक डिभिजन कार्यलयले बताउंँदै आएको छ । सो खण्डमा रहेका घरका सेफ्टी ट्याङ्की सडकमा नै पर्न सक्ने अनुमान गरिएको छ । यस बारे अध्ययनसँगै उद्योग वाणिज्य संघ तथा बजार व्यवस्थापन समितिहरुसँग समन्वय भइरहेको कार्यालयको भनाई छ । यी सडकखण्डमा ड्रेनको लागि केही ठाउंँमा ठूला ठूला खाल्डो पारेपनि यसको लागि थप कुनै प्रगति भएको छैन ।
जसका कारण सवारीसधान पनि दिनहुंँ जस्तो अस्तव्यस्त हुंँदै आएको छ । जसले गर्दा ट्राफिक व्यवस्थापनमा कठिनाई हुदै आएको छ । दिनुहुंँ जस्तो जाम र सवारी दुर्घटनाको ग्राफ पनि उक्लदो छ । बर्षादको कारणले काम रोकिएको बताउंदै हालसम्म ४५ प्रतिशत काम सकिएको उनले दाबी गरेपनि त्यो अनुपातमा काम भएको देखिदैन । विद्युतको पोल सार्ने काम भइरहेको र खानेपानीको पाइप सार्ने काम भइरहेको उनले बताए । सडकपेटी लगायत सडकका बीचमा निर्माण सामाग्री असरल्ल छरिएपनि नियामक निकायहरु भने वेखबर छन । मौन छन । उनीहरुले कहिले चाडबाड कहिले सरुवाको बहानामा यसबारे बुझ्ने कोशिश भईरहेको बताउंँछन ।
सडक डिभीजन कार्यालयका इञ्जिनियर चण्डेश्वर शाहले भर्खरै मात्र आफूहरु सरुवा भएर आएकोले यसबारेमा अनविज्ञ भएको बताए । निर्माण कम्पनीको अनुगमन विभाग र डिभीजन कार्यालयको समन्वयमा गरिने भएकोले अब अनुगमनलाई तीब्रता दिने उनले बताए । विभागले डिजाइन र स्वीकृत गरे दिने हुनाले सोही अनुसार काम हुनुपर्ने उनको भनाई छ । निर्माण कम्पनीले लापरवाही गरे आफूहरुले सुधार र सचेत गराउने शाहले बताए । जिल्ला ट्राफिक कार्यालय, चितवनका प्रमुख धर्म बहादुर अधिकारीले पुलचोक देखि गोन्द्राङ्ग सडक निर्माण भएदेखिनै ट्राफिक व्यवस्थापन गर्न निकै चुनौति भएको बताए ।
‘यो सडकले गर्दा ट्राफिक जाम पनि उत्तिकै छ, दुर्घटना पनि बढेको छ, यात्रुलाई सास्ती र सडक अस्तव्यस्त उस्तै छ ।’ अधिकारीले भने । सडक , महानगर, निर्माण कम्पनी र ट्राफिकको समन्वय नभएको कारण पनि ट्राफिक व्यवस्थापनमा चुनौति थपिएको अधिकारीले बताए । ‘एउटै लेनबाट दोहोरो सवारी हिडेको छ, बीचमा खाल्डाखुल्डी , उकालो ओरालो छ । तर हामीले निर्माण कम्पनीका प्रतिनिधिलाई पनि भेट्नै सकेका छैनौं ।’ सडक निर्माणकार्य एकदमै ढिलासुस्ती भएका कारण दुर्घटनाका घटना र जोखिम पनि उत्तिकै बढेको अधिकारीले बताए ।
यसका लागि सबै सरोकारवालाको उत्तिकै दायित्व रहने उनको भनाई छ । ‘ट्राफिक व्यवस्थापन ट्राफिक एक्लैले गर्न सक्दैन यसको लागि सडक संरचना लगायत अन्य सरोकारवाला पनि उत्तिकै जिम्मेवार बन्नुपर्छ ।’ अधिकारीले भने । ठेकदार कम्पनीको लापरवाही र ग्रैह्र जिम्मेवारीका कारण गतबर्ष गोन्द्राङ्गको ड्रेनमा गैंडा खसेर मृत्यु भएको थियो । अब पनि गम्भिर खालको कुन दुर्घटना हुने हो भन्न सकिने अवस्था छैन ।
