काठमाडौं — चर्चित हास्य टेलिभिजन कार्यक्रम Comedy Champion र Comedy Night With Champion का निर्माता तथा Three Production Pvt. Ltd. का सञ्चालकले आफू र आफ्नो कम्पनीमाथि भएको घोर अन्यायको विषयमा सार्वजनिक रूपमा आवाज उठाएका छन्।
उनका अनुसार १८/१९ महिना अघि आफूलाई NRN (गैरआवासीय नेपाली) बताउने एक लगानीकर्ताले ३.५ करोड लगानी गर्ने सहमतिमा कम्पनीमा ३०% सेयर लिएका थिए। मौखिक तथा लिखित सम्झौताअनुसार लगानीकर्ताले २४ महिना भित्र लगानी फिर्ता नगर्ने सहमति गरिएको थियो। तर Comedy Champion Season 3 सकिएलगत्तै उनी लगानी फिर्ताको माग गर्दै कानुनी, प्रशासनिक तथा मानसिक दबाब दिन थालेको आरोप लगाइएको छ।
उक्त लगानीकर्ताले कम्पनीकै चेक लिएर उनीविरुद्ध बैंकिङ कसुरमा मुद्दा दायर गरी जबरजस्ती २ करोड ४० लाख असुलेको आरोप लगाइएको छ। कम्पनी खाताबाट रकम बैंकमार्फत भुक्तानी गरिएको प्रमाण हुँदाहुँदै पनि लगानीकर्ताले मिलापत्र गर्न नमानेको र उल्टै थप कानुनी झमेलामा फसाउने प्रयास गरेको बताइएको छ।
यस कारण अहिले शोका कलाकार, कर्मचारी, विजेताहरूलाई पुरस्कार तथा पारिश्रमिक दिन नसकिएको, कम्पनीको आर्थिक अवस्था जटिल भएको र कार्यक्रमको निरन्तरता प्रभावित भएको बताइएको छ।
यस प्रकरणमा उच्च अदालत पाटन र जिल्ला अदालत काठमाडौंमा मुद्दा चलिरहेको छ भने सम्बन्धित निकायमा उजुरी दिइसकिएको छ। प्रधानमन्त्री तथा HelloSarkar मा समेत जानकारी दिइए पनि प्रभावकारी पहल नभएको गुनासो गरिएको छ।
उक्त पोस्टमार्फत निर्माता र टिमले सरकारले कानुनी प्रक्रिया शीघ्र अघि बढाइदिई काम गर्ने वातावरण सुनिश्चित गर्न आग्रह गरेका छन्।
उनी भन्छन्, “हामी देशमै बसेर दर्शकलाई हँसाइराख्न चाहन्छौं, तर कानुनी संरक्षण र न्याय चाहिन्छ।”
पीडितले लगानीकर्ताको नाम र फोटो सार्वजनिक नगरेका कारण उनका परिवारलाई लज्जित नपार्न भन्ने मानवीय कारण देखाइएको छ।
